काठमाडौं । चलचित्र कलाकार संघको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमवार राति १२ः२७ बजेसम्म सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदमा उत्तम केसी विजयी भएका छन्।
केसीले २१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी सबिन श्रेष्ठलाई पराजित गरे। श्रेष्ठले १३२ मत प्राप्त गरेका थिए। निर्वाचनमा कुल ३५६ मत खसेको थियो।
उपाध्यक्ष पदमा पूजना प्रधान र शिवहरी बैरागी विजयी भएका छन्। पूजना प्रधानले १४४ मत तथा शिवहरी बैरागीले १४६ मत प्राप्त गरे। अन्य उम्मेदवारमध्ये पनाह अधिकारीले १३५, उद्धव भट्टराईले १०७, डिबी तामाङले २७ तथा राजेन्द्र बस्नेतले १८ मत पाए।
महासचिव पदमा सुनील कटवाल १९५ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी रामेश्वर बुर्लाकोटीले १२५ मत प्राप्त गरे। सचिव पदमा गोपाल ढकाल २१४ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी पल्पसा डंगोलले ११० मत प्राप्त गरिन्।
कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित निर्वाचित भइन्। पवित्रा आचार्यले १०६ तथा खुश्व खड्काले ५८ मत प्राप्त गरे। सहकोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी हुँदा गीता नेपालले १५३ मत प्राप्त गरिन्।
सदस्य पदमा १० जना निर्वाचित भएका छन्। विजयी हुनेहरूमा इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला (मोनिका) दाहाल, चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई तथा सुलेमान इकु रहेका छन्।









