सुनुवाइ एक दिन सार्न वर्षमान पुनको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन् ।

संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकमा पुनले शर्माविरुद्ध परेका उजुरी तथा उनले प्रस्तुत गरेको कार्ययोजना अध्ययन गर्न पर्याप्त समय आवश्यक रहेको भन्दै सुनुवाइ बुधबारबाट सुरु गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।

समितिले शर्माको सुनुवाइ आजै गर्ने तयारी गरे पनि बैठकमा उनका विरुद्ध परेका १६ वटा उजुरी र कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको थियो ।

बैठकमा पुनले भने, “आज मज्जाले अध्ययन गरौं । भोलि बिहानबाट सुनुवाइ गरौं । पास गर्न बहुमत भए पुग्छ । यसकारण समस्या हुँदैन । पर्फेक्ट प्रक्रिया पुगेको देखियोस् ।”

उनले निर्णय के हुने भन्ने विषय लगभग स्पष्ट भइसकेको उल्लेख गर्दै प्रक्रियागत रूपमा पनि सुनुवाइ व्यवस्थित ढंगले अघि बढाउनु आवश्यक रहेको बताए ।

संसद्मा प्रि–बजेट छलफलसमेत चलिरहेकाले त्यहाँ पनि सहभागी हुनुपर्ने अवस्था रहेको भन्दै उनले सुनुवाइ एक दिन पछि सार्न आग्रह गरेका हुन् ।