आजदेखि रास्वपाको जिल्ला अधिवेशन, मनाङ र मुस्ताङमा नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ। पार्टीले देशका ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ भने पछिल्लोपटक डोल्पामा तदर्थ समिति बनाइएको थियो।

यद्यपि गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने जिल्ला अधिवेशन नहुने भएको छ। ती जिल्लामा वडा तथा पालिका तहको अधिवेशनसमेत सम्पन्न नभएकाले जिल्ला अधिवेशन नगरिने पार्टीले जनाएको छ।

रास्वपाले कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भएका जिल्लामा जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था गरेको छ। सोही निर्णयअनुसार अधिकांश जिल्लामा आज र भोलि अधिवेशन आयोजना गर्न लागिएको हो।

पार्टीको कार्यतालिकाअनुसार जिल्ला अधिवेशनपछि जेठ २६ देखि असार १ गतेसम्म प्रदेश अधिवेशन सञ्चालन गरिनेछ। त्यसपछि असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन आयोजना गर्ने तयारी गरिएको छ।

संगठनलाई निर्वाचित नेतृत्वमार्फत संस्थागत गर्ने लक्ष्यसहित रास्वपाले अधिवेशनको प्रक्रिया अघि बढाएको जनाएको छ।