भोटेकोशी बाढीः ६०२ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रबाट नेपाली सेनाले बिहीबार दिउँसो साढे ३ बजेसम्म ६०२ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिक छन्।

सेनाका अनुसार टिमुरे, स्याफ्रुबेँसी, धुन्चे, मैलुङलगायत क्षेत्रबाट उनीहरूको हवाई उद्धार गरिएको हो। यस्तै, सेनाले जमिनमार्फत थप २०० जनाको उद्धार गरेको जनाएको छ।

उद्धार गरिएकाको उपचारका लागि त्रिशूलीमा छाउनी अस्पतालबाट चिकित्सकसहितको मेडिकल टोली परिचालन गरिएको छ। सेनाका अनुसार हालसम्म ३३८ जनाको उपचार भइरहेको छ।

खोज तथा उद्धारलाई प्रभावकारी बनाउन ड्रोन र सैनिक कुकुरसमेत प्रयोग गरिएको छ। उद्धार तथा राहत कार्यमा ४ हजार २०० भन्दा बढी नेपाली सेना परिचालन गरिएको सेनाले जनाएको छ।