सोनाम ल्होछारको अवसरमा राष्ट्रपति कार्यालयमा पूजापाठ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच सोनाम ल्होछारको शुभकामना दिएका छन्। मंगलबार बिहान लामा गुरु, ताम्बा र बोम्बोको विषेश पछि राष्ट्रपति पौडेलले सोनाम ल्होछार २८६१ को शुभकामना दिएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।

विभिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेको पौडेलको भनाइ थियो।

राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होछार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अङ्ग भएको बताउदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ भन्ने आफुले बुझेको स्पष्ट पारे।

पूजापाठ कार्यक्रममा ल्होछार मुल आयोजक समितिका संयोजक मोहन गोले तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि पहिलोपटक राष्ट्रपति निवासमा यसखालको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे। ‘इतिहासमै पहिलोपटक राष्ट्रपति निवासमा यसखालको पूजापाठ गरेर अपनत्व लिनुभएको छ। यसले निरन्तरता पाउने आशा गरेको छु,’ तामाङ घेदुङका अध्यक्षसमेत रहेका गोलेले भने।

राष्ट्रपति कार्यालयले पहिलोपटक सोनाम ल्होछारको अवसरमा शुभकामना तथा पूजापाठ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्वमन्त्री तथा सांसदसहित तामाङ संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

तामाङ समुदायले आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी देश तथा विदेशमा ल्होछार मनाउँदैछन्। ल्होछार मुल आयोजक समितिले भने भोलि बुधबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा ल्होछार इभ मनाउने र बिहीबार वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ। चन्द्रपात्रोअनुसार माघ १७ गते ड्रुक अर्थात् ड्र्यागन वर्गको विदाई र डुल सर्प अर्थात वर्ग लाग्दैछ। ल्होछार तामाङ समुदायको नयाँ वर्ष हो।

SHARE