नाच, भाषण, राजनीति र ताम्सालिङ : मोहन गोले तामाङ

फागुन २६ काठमान्डौ
यसबर्षको सोनाम ल्होछार–२८५४ पनि बिगत बर्षमा झैँ नाचगान, साँस्कृतिक उत्सव, महोत्सवको आयोजना गरेर नै मनायौ । यसक्रममा म आधा दर्जन बढी स्थानमा ल्होछार समारोहलाई सम्बोधन गर्न पुगे । जब उद्घोषकले स्टेजमा गीत, नृत्यको लागि कलाकार बोलाउँथ्यो, दर्शकको ठेलमठेल र हुटिङ बेजोडको हुन्थ्यो तर जब म स्टेजमा माइक्रोफोन समात्न पुग्थे । हुटिङ र ताली त कम हुन्थ्यो नै, दर्शकको संख्या पनि क्रमशः घट्दै जान्थ्यो । म मात्र होइन, सबै नेता स्टेजमा पुग्नासाथ यस्तै क्रम दोहोरिएको दृष्य हामीले देख्दै आएका छौ । कार्यक्रम सञ्चालकले नेताको भाषण आउने बेलामा दर्शक भेला पार्न ठीक अगाडि नाम चलेको कलाकारलाई प्रस्तुतीको लागि स्टेजमा उभ्याउथ्यो तरपनि यो सुत्रले काम गर्दैनथ्यो । एकैछिन अघि देखिएको दर्शक नेता उभिनासाथ स्टेज नजिकबाट हराउँदै जान्थ्यो । तामाङको कार्यक्रममा देखिने यस्तो परिदृष्य यसबर्षको मात्रै होइन, बर्षौदेखि हामी यस्तै देखिरहेका छौ ।
तामाङ दर्शक मात्रै होइन, घेदुङमा लागेर बर्षौ बिताएको अग्रजहरु पनि यही सोच, चिन्तनबाट प्रभावित छन् । अझै उनीहरु घेदुङले राजनीतिक कुरा गर्नु हुँदैन, साँस्कृतिक कुरा मात्रै गर्ने हो भन्छन् । अझै पुरानो चेतनाले घेदुङ जस्तो सामाजिक संस्थालाई बिकासे संस्थाको रुपमा दाँजेर हेर्दैछन् । उनीहरु यस्तो आदिवासी जनजाति संगठनलाई अन्तर्राष्ट्रिय मानवअधिकारको दस्तावेजले सामाजिक, साँस्कृतिक सवालमा मात्र होइन, राजनीतिक अधिकार, आत्मनिर्णयको अधिकार र पहिचानको सवालमा आवाज उठाउने अधिकार दिएको कुरा थाहा पाउदैनन् । नेपाल सरकारले आइएलओ १६९ अनुमोदन गरेको र आदिवासी अधिकार सम्बन्धि घोषणापत्रमा हस्ताक्षर गरेको कुरा भुल्छन् । वास्तवमा यसखालको थोत्रो कुरा पञ्चायतकालीन अभिब्यक्ति हो । जुनबेला तामाङ घेदुङ जस्तो सामाजिक संगठनलाई राजनीतिक कुरा गर्नु, आफ्नो अधिकारको कुरा उठाउनु कानुनी रुपमा बर्जित थियो । त्यसताका अग्रजहरु आफ्नो भाषा, धर्म, संस्कृति बचाउने भन्दै तामाङ एकताको कुरा गरेर हिड्नु बाध्य थिए । तर आज दोस्रो ऐतिहासिक जनआन्दोलन सम्पन्न हुँदै मुलुक संघीय लोकतन्त्रात्मक गणतान्त्रिक युगमा प्रवेश गरिसकेको अवस्थामा पनि पञ्चायती युगको भाषा बोलिरहनु भनेको तामाङलाई समयक्रम अनुसार बदल्न नसक्ने चिन्तन नै हो । म घेदुङको नेतृत्वमा आइसकेपछि मैले सबैभन्दा बढी जोड दिएको र तामाङको समस्याको रुपमा देखेको विषय भनेको तामाङले अब राजनीतिक क्रान्ति गर्नुपर्छ भन्ने हो । यसको लागि आठौ राष्ट्रिय महाधिवेशनबाट पारित चितवन घोषणापत्रको जगमा टेकेर हालसम्म सम्पन्न नेपाल तामाङ घेदुङको चारवटा ऐतिहासिक राकास बैठकले राजनीतिक रुपमा अघि बढ्नुपर्ने दस्तावेज पारित गरेको छ । यसरी प्रस्तुत हुने क्रममा मलाई राजनीतिक कुरा बढी गरेको आरोप पनि लाग्यो । तर मैले कुनै एउटा राजनीतिक पार्टीको कुरा गरेको छैन । समग्र तामाङ समुदायलाई सामाजिक क्रान्तिबाट राजनीतिक क्रान्तितर्फ अघि बढेर घेदुङको ६१ बर्षको लगानीबाट प्राप्त सामाजिक उपलब्धिलाई संस्थागत गर्ने भनेको हो । किनकि यो उपलब्धिको रक्षा राजनीतिबाट मात्रै सम्भव हुन्छ । कुनै एउटा संस्थाको ६१ बर्षको त्याग र लगानी भनेको सानो समय होइन । आजसम्म किन यो संस्थागत हुन सकेन त ? राजनीतिक संरक्षणको अभावमा यस्तो भइरहेको छ । त्यसैले आजको यो पंक्तिको शिर्षक नाच, भाषण, राजनीति र ताम्सालिङ राखिएको हो ।
तामाङ गीत, नाच संरक्षण गर्न र यसको निरन्तरताको लागि तामाङ समुदायले अबका दिनमा भाषण बुझ्नु जरुरी छ । जो तामाङहरु भाषण आएपछि भागिरहेका छन् र नाच भन्नासाथ झुम्मिरहेका छन् । हामीले आज नाच्न पाएको, गाउन पाएको नै भाषणले गर्दा हो । हाम्रा अग्रजहरुले खोज, अनुसन्धान गरी सोनाम ल्होछारको बारेमा राज्य र समुदायसँग भाषण नगरेको भए यो पर्व स्थापित हुने थिएन । त्यसैले भाषण र नाच बीच अन्योन्याश्रित सम्बन्ध छ । नाच भएन भने भाषण हुँदैन, त्यस्तै भाषण भएन भने नाचको मूल्य/मान्यता स्थापित हुँदैन । नाच कला/संस्कृति हो भने भाषण राजनीति हो । कला कलाकारमार्फत प्रष्फुटित हुन्छ भने राजनीति नेतामार्फत समुदायमा प्रवाह हुन्छ । डम्फुरे म्हेमेहरुबाट डम्फू बजाएर तामाङ कला/संस्कृतिको निरन्तरता हुन्छ र दोस्रो पुस्तामा हस्तान्तरण सम्म हुनसक्छ तर दीर्घकालसम्म यसको संरक्षण हुन सक्दैन । बाजेले डम्पूm बजाएरै कला, संस्कृतिको संरक्षण हुने भए आज ल्होछारमा म जस्ता अभियन्ताहरुले घोक्रो सुकुञ्जेल भाषण गरिहिड्नु पर्दैनथ्यो । हिन्दूले घरघरमा दशैं मानेको जस्तै गरी तामाङले घरघरमा ल्होछार मानेको अवस्था देखिने थियो होला । त्यसैले यसको संरक्षणको लागि राजनीति चाहिन्छ । राजनीति भनेको सत्ता हो । खसआर्य समुदायले २५० बर्षसम्म एकजाति, एकभाषी, एक धार्मिक र एक साँस्कृतिक राज्यसत्ता चलाएर आफ्नो साँस्कृतिक मूल्य/मान्यतालाई स्थापित नगरेको भए हिन्दूको पर्व दशैं, तिहारको हालत हाम्रो सोनाम ल्होछार भन्दा पनि गए गुज्रेको अवस्थमा हुने थियो ।
त्यसकारण हामीले के बुझ्नुपर्छ भने सत्ताभन्दा बाहिर रहेको वस्तुहरु सबै असुरक्षित हुन्छन् । सत्ताबाहिर रहेको साँस्कृतिक विविधता घरबाहिर छरपस्ट फिजिएर रहेको मालसमान जस्तै हो । जुन कुनैपनि बेला चोरिने, हराउने, मासिने र भेटिएको पनि दुरुस्त रुपमा फेला नपर्ने हुन्छ । आज हाम्रो ल्होछार पर्वको बारेमा माघ ४ कि फागुन ४ भन्नेमा भ्रम फैलियो । केहीले बुझेर त केहीले नबुझेर यही बेलामा माछा मार्न सकिन्छ कि भनेर पानीलाई थप धमिलो पार्ने कोशिस गरे । न्वरानदेखिको बल लगाएर घेदुङको मूल्य/मान्यता भत्काउने प्रयास गरियो । तर सम्भव भएन । यही मौकामा केही पत्रकार साथीहरुले हामी भित्रैको दुई भिन्न पात्रलाई उभ्याएर सामाजिक सञ्जालमा समाचार प्रकाशित गरे । अन्तर्वार्ता लिएर दुईजनाको लडाइँ भएको हेडलाईन बनाए । तर यो हामी बीचको लडाइँ न कहिल्यै थियो न पछिका दिनमा नै हुनेछ । यो त सत्ताको खेल हो, जुन हामी बुझ्दैनौ । सत्ताले आफ्नो फ्रेमभन्दा बाहिर रहेको उत्पीडित जनतालाई जुधाउनको लागि जहिलेपनि फुटाउ र शासन गर को फर्मुला प्रयोग गरिरहन्छ । यो फर्मुला निर्बाचनमा भोट हाल्ने बेला मात्रै होइन, हाम्रो जीवनको हरेक पक्षमा प्रयोग गर्छन् । जसलाई हामी देख्दैनौ किनकि यस्ता खलपात्र कानुनको पर्दाले छेकिएर सुरक्षित रहेको हुन्छ । कानुनको ठेलीमाथि उभिएको सत्तालाई प्रश्न गरिदैन । यस्तो अवस्थामा दृष्यमा जो पात्र उभिएको देखिन्छ उसैलाई प्रश्न तेस्र्याइन्छ । जसले समस्यालाई सल्टाउने भन्दा बल्झाउन सहयोग पुग्छ ।
हामीले के बुझ्नुपर्छ भने सत्ता सबैको हुँदैन । संसारकै सत्ताहरु बर्गीय हुन्छन् । त्यसमाथि नेपालको सत्ता जातीय पनि भयो । एउटा बर्ग, जातिको स्वार्थ पुरा गर्न उसले अर्को बर्ग र जातिहरुलाई कानुन र सेनाको बलबाट दमन गर्छ । बर्गीय सत्ताले आफ्नो सत्ता इतर संस्कृतिलाई आफ्नो दस्तावेजीकरणको माध्यमबाट कानुनी मान्यता दिलाउँछ । त्यो मान्यता बिगार्न खोज्नेलाई कानुनको डण्डा बर्षाएर दण्डित गर्छ । यो डण्डाबाट पुर्वका दुई किराती सन्तान रामलिहाङ र रिदामा साँस्कृतिक शहिद भएको इतिहास हामी सामु ताजै छ । धर्म निरपेक्ष मुलुकमा अहिले पनि गाई, गोरु काटेर खाएको आरोपमा तामाङहरु जेलमा सडिरहेका छन् । हिन्दू सत्ताले मान्छे मात्र होइन, जनावरसम्म राजनीति जोडेको हुन्छ । यस्तो कुरा हामी थाहा पाउदैनौ किनकि हाम्रो राजनीतिक आँखा छैन । द्वन्द्ववादी ढंगबाट कुनैपनि समस्याको हल खोज्ने भौतिकवादी दृष्टिकोण छैन । रंगरहोसमा भुल्लिन्छौ । लाईब्रेरीमा जादैनौ, लैबरीमा भुल्लिन्छौ । बैचारिक छलफलमा भाग लिदैनौ । यहीनेर ठूलो कमजोरी भइरहेको छ । यही लैबरीमा भुल्लिदा तामाङको सत्ता गुम्यो, सत्ता गुमेसँगै सबैकुरा गुमेको छ । लामो समय हराएर माटोमा मिलिसकेको वस्तु पछि खोजेर पुनस्र्थापित गरिएपनि त्यो प्रश्नै प्रश्नको जालोभित्र जेलिएको छ । कसैले हाम्रै हो भन्छ, कसैले हाम्रो होइन भन्छ । कसैले यस्तै थियो भन्छ, कसैले यस्तो थिएन भन्छ । यसको रुप, आकार, सौन्दर्यता, विशेषतामाथि प्रश्न उठाइएको छ ।
अब अलिकति गम्भीर भएर एकपटक कल्पना गरौ । अबको सय, डेडसय बर्षपछिका दिनमा तामाङ सन्तानले तामाङ भाषा, संस्कृति, कला, ज्ञानलाई बचाएर निरन्तरता दिन सक्ला ? मेरो अनुमानले भन्छ– यो सम्भव छैन । ल्होछारको बेला एकदिन तामाङ गोइलोमा नाचेर संस्कृति बच्दैन । घेदुङको २, ४ जना अभियन्ताहरु कराएर यसलाई बचाउन सक्ने छैनौ । हाम्रो स्रोतसाधन, प्रकृतिमाथि दिनप्रतिदिन हस्तक्षेप बढ्दैछ । हामी आफ्नै बनपाखा, घरगाउँमा अल्पमतमा पर्दैछौ । आफ्नै घरमा बिरानो हुँदैछौ । हाम्रा पुर्खाहरु आफैले पालेका जनावर, खोला, पखेरी, पधेरीसँग कुरा गर्नु हुन्थ्यो । आज ती प्रकृतिसँगको अन्तरक्रिया, सम्वाद टुटेको छ । आधुनिकताको नाममा हामी संसारीकरण र बजारीकरणको चपेटामा पर्दैछौ । यतिबेला विश्व साम्राज्यवाद र पुँजिवादको डरलाग्दो हावा बहेको छ । हामीलाई त्यही हावाले उडाउँदैछ । कति उडिसक्यो, कति उड्न नमान्ने महरु पनि लड्खडाइरहेका छन् । एक्काईसौ शताब्दीको साम्राज्यवाद सिधै लालपूर्जा खोस्न आउँदैन । उसले हाम्रो प्राण झिकेर मुठिमा राख्छ र हामीलाई तामाङ दृष्टिकोणले हेर्दा प्राणहीन बनाईदिन्छ । साम्राज्यवादले हाम्रो नयाँ पुस्ताको जिब्रोबाट तामाङ शब्दहरु खोसेर अंग्रेजी शब्द टंकन गराईरहेछ । अंग्रेजी भाषा बोल्ने सभ्य र तामाङ भाषा बोल्नेहरु असभ्य हुन् भन्ने मान्यताले ठाउँ पाउदैछ । हामीले हजारौ बर्षदेखि खादै आएको ढिँडो, भल्डु, बाबर आज हाम्रो आफ्नै जिब्रोलाई नमिठो लाग्न थालिसक्यो । बहुराष्ट्रिय कम्पनीको उत्पादनहरु जंक फुड र प्याकेजिङवाला रेडिमेड खानाले हाम्रो जिब्रोलाई लट्याउँदैछ । हाम्रो चुलोमा हाईब्रिड उत्पादनहरु पाकिरहेको छ । अन्तर्राष्ट्रिय कम्पनीको हाइ भोल्टेज विज्ञापनबाट भित्रइएको ब्रान्डेड रक्सीबाट हाम्रो पुर्खाको ज्ञानबाट बनेको कोदोको आइरक लोप हुने खतरामा छ । हामी खान नपाएर होइन, आइफोन बोक्न नपाएर गरीब, दुःखी भएका छौ । हाम्रो ज्ञान र प्रविधिबाट पुर्खाले बचाएर राखेको लोकल जातको बीउ बिजनहरु फापर, कोदो, गहत, घैया, जौलाई हाइब्रिड बीउले सिध्याउदैछ । हामी एकदिन अन्तर्राष्ट्रिय कम्पनीले एकसालको लागि मात्र उत्पादन हुने हाईब्रिड बीउ पठाए बाँच्ने, नपठाएर भोकभोकै मर्ने दिनमा पुग्दैछौ । हाम्रो आउने पुस्ता कलमी आँपको रुपमा जन्मिदैछन् । विश्व पुँजिवादी उत्पादनले हाम्रो नयाँ पुस्ताको खाने, बोल्ने, सोच्ने सर्वाङिण मनोविज्ञानलाई नै प्रभावित गरिरहेको छ । जसको जरा तामाङ भएपनि हाँगाबिगा तामाङको रुपमा पलाईरहेको छैन । यस्तो स्लो पोइजनको रुपमा भित्रिदै गरेको मिहीन कुराहरुतर्फ हाम्रो ध्यान गएको छैन । मनतातो पानीमा भ्यागुताले आनन्द मानेर बस्दा एकैछिनमा पानी उम्लिन थालेपछि मरे जस्तै विकासको नाममा हाम्रो विनाश हुँदैछ ।
यस्तो चौतर्फी आक्रमणबाट तामाङ जीवनलाई बचाउन दबाब समूहको रुपमा स्थापित घेदुङ जस्तो सामाजिक संगठन र ताम्बा, लामा, बोन्बोहरुको पहलबाट मात्रै सम्भव छैन । यसको संरक्षणको लागि ताम्सालिङ एकमात्र शर्त हो । ताम्सालिङ बिना बर्तमान राज्यसत्ताको किस्तावन्दी वितरणले पनि तामाङलाई बचाईराख्न सम्भव हुँदैन । किनकि यो मुलुक सङ्घीयतामा गएपनि, गणतन्त्रकालमा प्रवेश गरेपनि केन्द्रीय सत्ता सञ्चालकहरु नश्लवादी धङधङीबाट मुक्त छैनन् । उनीहरु एकापट्टि दिएजस्तो गर्छन्, अर्कोपट्टिबाट खोसि रहेका हुन्छन् । सोनाम ल्होछार पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छन् तर त्यो पर्वको आधिकारिक तिथि तोक्ने मञ्जुश्री सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिँदैनन् । यसरी हामीहरु एकातिर तामाङ जीवनको नट कस्दै जान्छौ तर अर्कोतिरको नट राज्यले ढिला गरिदिन्छ । यसकारण तामाङको सबैपक्षको नट कस्ने, बलियो बनाउने भनेको ताम्सालिङ प्राप्तीबाट मात्रै सम्भव छ । यसको लागि ताम्सालिङ प्रदेश निर्माण गरी मुख्यमन्त्री सहित बहुमत सांसद ताम्सालिङ पक्षधर हुनु आवश्यक छ । यो भयो भने शान्तिपूर्ण ढंगबाटै हाम्रो साँस्कृतिक मूल्य, मान्यता राज्यको दस्तावेजमा कानुनद्वारा संरक्षित हुनेछन् । यदि यो नभए द्वन्द्ववादी सिद्दान्त अनुसार तामाङ बिद्रोहबाट ताम्सालिङ निर्माण गर्नु र तामाङ जीवनलाई बचाउनुको बिकल्प हुनेछैन । त्यो ताम्सालिङ राजनीतिक संघर्षबाट मात्रै स्थापित हुनेछन् । ल्होछारमा नाचेर, गीत गाएर पाईदैन । अन्यथा, केपी ओलीजीले साम्यवाद सुन्दर सपना भने जस्तै ताम्सालिङ पनि तामाङको लागि सुन्दर सपना मात्र हुनेछ । धन्यवाद ।।

SHARE