जिरी अस्पतालमा व्यवस्थापनको लापरबाहीका कारण भएन लेखापरीक्षण, लाखौंको औषधि गयो खेर।

दोलखाको जिरी अस्पतालमा लाखौं मुल्यमा खरिद गरिएको औषधिको म्याद गुज्रीन पुगेको छ। अस्पतालले करिब २ वर्ष अगाडि खरिद गरेको १० लाख मुल्य बराबरको औषधिको म्याद गुज्रिन पुगेको हो।
स्थानीय तहको मातहतमा रहेको जिरी अस्पतालको प्रत्येक वर्ष गर्नुपर्ने लेखापरीक्षण (अडिट) को काम पनि नगरी असंबैधानिक रुपमा अस्पताल सन्चालन गरेको पाइएको छ। प्रत्येक वर्ष अडिट गर्नुपर्ने संबैधानिक व्यवस्था भएता पनि स्थानिय सरकारको गठनपछि जनप्रतिनिधिले वास्ता नगर्दा अडिटको काम हुन सकेको छैन।
मेयरको अध्यक्षतामा निर्माण गरिएको अस्पताल बिकास बोर्डको लेखापरीक्षण २०७४ साल पछि नगरेको पाइएको छ । बिरामिलाई  उपलब्ध गराउनुपर्ने औषधिपनि व्यवस्थापनको लापरबाहीका कारण  स्टोरमै म्याद सकिएर थुप्रेर बसेको छ।
निवर्तमान मेयर टंक बहादुर जिरेलको समयमा पनि अडिटको कामलाई वास्ता नगरेको र वर्तमान मेयर मित्र बहादुर जिरेलले पनि अडिटरको खोजी गरिरहेको, केही दिनमा काम हुन्छ मात्र भन्ने गरेको तर अडिटको काममा भने वास्ता नगरेको स्थानीय नागरिक दिपेश जिरेलले खुल्ला पत्रलाई जानकारी दिएका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनपछि जनहितमा काम गर्न सक्ने जनप्रतिनिधिको छनोट गर्न नसकेर भनौं वा जनप्रतिनिधिको लापरबाहीका कारण जिरी अस्पताल समय समयमा विवादको विषय बन्ने गरेको स्थानीयबासिको ठहर छ।
SHARE