तामाङ घेदुङको बट्टार बैठकको निर्णय सार्वजनिक : महासचिवमा जगत दोङद्धारा सपथ ग्रहण

तामाङ घेदुङको बट्टार बैठकको निर्णय सार्वजनिक : महासचिवमा जगत दोङद्धारा सपथ ग्रहण,यस्तो छ अन्य निर्णयहरु चैत मसान्तभित्र भातृ संगठन र प्रदेश कार्यसमितिहरुको अधिवेशन गर्न निर्देशन काठमाडौं–तामाङहरुको राष्ट्रिय छाता संगठन नेपाल तामाङ घेदुङले महासचिव,उपमहासचिव लगायतका महत्वपूर्ण पदहरुमा गरिएको पदपूर्ति,भातृ संगठन र प्रदेश कार्यसमितिहरुको अधिवेशन,समसामयिक राजनीतिका सन्दर्भमाथि गरिएको निर्णय शुक्रबार सार्वजनिक गरेको छ ।

मंसिर ९ र १० गते नुवाकोटको बट्टारमा भएको घेदुङ संघीय कार्यसमितिको बैठकले गरेको निर्णय अन्तर्गत मनोनित गरिएकाहरुका लागि सपथ ग्रहण कार्यक्रम तथा अन्य निर्णयहरु समेत सावजनिक गर्न पत्रकार सम्मेलन नै आयोजना गरेको हो । बैठकको निर्णय अनुसार महासचिवमा मनोनित हुनुभएका जगतमान लामा दोङले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । उहाँलाई घेदुङका अध्यक्ष मोहन गोलेले सपथ गराउनुभयो ।

अधिवक्ता भगवती पाण्डे(सितल)ले तामाङ जातिमाथिको दिएको विवादित अभिव्यक्तिमा काण्डमा मुछिएका महासचिव काजीमान थिङले राजीनामा दिएपछि उपमहासचिव दोङले उक्त जिम्मेवारी पाउनुभएको हो । घेदुङको विधान २०१३ आठौं संशोधनको दफा ३५ बमोजिम दोङ महासचिव,सरोजमोहन लामा उपमहासचिव,निर्मल बहादुर लामा सचिव र घेदुङको विधान २०१३ को दफा २७(१) बमोजिम मित्र सेन योञ्जन विभागिय प्रमुख र विधानको दफा २४(२) बमोजिम रामभक्त बम्जनलाई सचिवालय सदस्यमा मनोनयन गरिएको कार्यक्रममा स्पष्ट पारएको छ ।

महासचिव दोङ सहित पाँचै जनाले शुक्रबार नै मनोनयपत्र एवं सपथ ग्रहण गर्नुभयो । उहाँहरुलाई विभिन्न जिम्मेवारी पनि तोकिएको छ । बैठकले पुष मासन्तभित्र कार्यकाल सक्ने आफ्ना ६ वटा भातृ संगठन तथा प्रदेश कार्यसमतिहरुको अधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि गरेको छ ।

यसका साथै संस्कृति प्रवद्र्धन तथा ताम्सालिङको अभियानको रुपमा यो पटक पनि भव्य रुपमा सोनाम ल्होछार मनाउने,यस आर्थिक वर्षभित्र कम्तीमा ५ वटा स्थानीय तहहरुमा तामाङ भाषा तथा लिपी एवं शिक्षा अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव दोङले जानकारी गराउनुभयो । समसामयिक राजनीतिको सन्दर्भमा आफ्ना आधिकारीक धारणा सार्वजनिक गर्दै घेदुङले धर्मनिरपेक्षता,संघीयता,गणतन्त्रसहितको व्यवस्थामाथि राजावादी,धार्मिक अतिवादीहरुबाट खतरा बढेको निश्कर्ष निकालेको जनाएको छ ।

यस सन्दर्भमा संघीयता,धर्मनिरपेक्षता,गणतन्त्र एव. लोकतान्त्रिक व्यवस्थाको पक्षमा डटेर उभिने निर्णय बट्टार बैठकले गरेको महासचिवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिचानको पक्षमा कोसी प्रदेशमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बागमती प्रदेश नामाकरणलाई अस्वीकार गर्ने,बागमती प्रदेशको समृद्धि एवं यहाँका तामाङ लगायत उत्पीडितहरुको न्यायका लागि ताम्सालिङ आन्दोलन उठाउने,नेपाल तामाङ घेदुङ सहतिको पहल कदमिमा बागमती प्रदेश सरकारले तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने सम्बन्धि भाषा ऐन २०८० र मञ्जुश्री संवतलाई समेत राजपत्रमा प्रकाशित गर्ने व्यवस्था पारित गरेकोमा प्रदेश सरकार र संसदलाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत बट्टार बैठकले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

समसामयिक राजनीति,अधिवक्ता भगवती(सितल) पाण्डे प्रकरण लगायतका विषयमा घेदुङमाथि विभिन्न प्रश्नहरु उठिरहेको सन्दर्भमा घेदुङको संघीय कार्यसमितिको नुवाकोट बट्टारमा बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको घेदुङका सञ्चार तथा प्रकाशन विभाग प्रमुख तिर्थमान वल तामाङले बताएका छन् । ।

SHARE