झापाको दमकमा बुधबारदेखि भाटभटेनी सुपरमार्केट सञ्चालनमा गर्दै

 झापाको दमकमा बुधबारदेखि भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ ।भाटभटेनीको यो सुपरमार्केट २७ औं हो भने कोशी प्रदेशको पाँचौं हो । करिब २ अर्ब लगानीमा सञ्चालनमा आएको यो सुपरमार्केटमा हरेक प्रकारका सरसामान उपलब्ध हुने चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए ।

उनका अनुसार परिसरमा ५ सय वटा दुई पांग्रे सवारीसाधन र डेढ सय वटा चारपांग्रे सवारीसाधन धान्ने पार्किङ सुविधा पनि छ ।दमकमा नयाँ सुपरमार्केट सञ्चालनमा आएको अवसरमा केही महिना हरेक सामानमा न्यूनतम १० देखि अधिकतम २० प्रतिशतसम्म छुट दिइएको उनले बताए ।

‘जति रकमको, जुनसुकै समान किन्दा पनि ग्राहकले १० देखि २० प्रतिशतसम्म छुट पाउने छन्,’ पौडेलले भने ।यहाँ २ वटा सिनेमा हल पनि सञ्चालनमा ल्याउनेगरी सबै संरचना तयार भएको उनले बताए । केही समयपछि २ वटै सिनेमा हल सञ्चालनमा आउने छ ।

‘बच्चाको खेलौना, लत्ताकपडा, फुड आइटम, विद्युतीय उपकरण, सबै प्रकारका घरायसी सामान यहाँ पाइनेछ’ पौडेलले भने ‘हाल बिहान साढे ७ बजेदेखि साँझ साढे ८ बजेसम्म भाटभटेनी खुला हुनेछ ।’यस सुपरमार्केटमा करिब ३ सय जना स्थानीय सर्वसाधारणले रोजगारी पाएको उनले बताए ।

SHARE