मंसिर २८ गतेदेखि २० औं हस्तकला व्यापार मेला

नेपाल हस्तकला महासंघले २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिता मंसिर २८ गतेदेखि गर्ने भएको छ । महासंघले राजधानीमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको हो ।

महासंघ स्थापनाको ५१ औं वार्षिकोत्सव तथा १२ औं हस्तकला दिवसको अवसरमा गरिने मेला तथा प्रतियोगिता पौष २ गतेसम्म दरवारमार्गस्थित होटेल अन्नपूर्णमा हुनेछ । महासंघका सदस्य विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला हस्तकला संघ र वस्तुगत संघहरु समेत सहभागिता रहने मेलामा १ सय ३० वटा स्टलहरु रहनेछन् ।

स्टलहरुमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरुको प्रदर्शनी गरिने भएको छ । आयोजकका अनुसार मेलामा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई विशेष प्रदर्शनी गरिनेछ भने महिला, अपांग र पिछडिएका वर्गलाई निशुल्क स्टल प्रदान गरिनेछ ।

मेलाको आकर्षणका रुपमा परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक तर्फ ‘छ्वाली कला’मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी हस्तकला प्रतियोगिता गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय उत्कृष्ट तीन जनाले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रति विधा न्यूनतम १५ जनाको सहभागिता रहनेछ । साथै कार्यक्रममा १० जना जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई ताम्रपत्रसहित सम्मान समेत गरिनेछ ।

मेलालाई थप आकर्षित तथा प्रभावकारी बनाउन मेला अवधिबाहेक थप १० दिन गरी १५ दिनसम्म १ सय २५ वटा स्टलहरुसहित भर्चुअल प्रदर्शनी समेत गरिने बताइएको छ । अमूर्त सांस्कृतिक सम्पदाको समेत जगेर्ना गर्ने हेतुले मेला अवधिमा चर्या नृत्य, प्राचीन संगीत प्रस्तुति पनि समावेश गरिनेछ । आयोजक समूहले मेलामा झण्डै १ लाख आगन्तुक आउने अनमान गरेको छ ।

मेलाले नेपाली हस्तकला वस्तुहरुको स्वेदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास गर्ने महासंघका अध्यक्ष प्रचण्ड शाक्यको भनाइ  छ ।

SHARE