काठमाडौं । पुष्पकमल दाहालले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य गलत रहेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै नेकपाका संयोजकसमेत रहेका उनले पुराना दल र नेताविरुद्ध बनाइएको ‘सबै उस्तै’ भन्ने धारणा वास्तविकता नभएको दाबी गरे।
‘पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन,’ उनले भने।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सँग अघिल्लो संसद्मा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा दह्रो सहकार्य गरेको पनि उल्लेख गरे। ‘रास्वपाका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसद्मा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ,’ उनले भने।
प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी,ललिता निवास जग्गा फिर्ता प्रक्रिया, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान तथा ठूला माफियाविरुद्ध कारबाही अघि बढाइएको दाबी गरे।
उनले पुराना र नयाँको आधारमा राजनीति विभाजन गर्ने भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले पनि गलत भएको बताए।
‘सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो,’ उनले भने, ‘पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधार मात्र खडा गर्छ । सही र गलतको बहसले गति र रुपान्तरणसहितको नयाँ एकताको आधार तयार गर्छ ।’









