सांगीतिक उडानमा निमाको पुनरागमन भन्छन्,‘मैले नयाँ जीवन पाएँ’

बितेका १० वर्षमा शारीरिक, मानसिक तथा आर्थिक कठिनाईहरुमा उनले जुध्न सिके । सांगीतिक जगतका धेरैले उनको स्वास्थ्य लाभको कामनासँगै सहायता जुटाए । जुन कुरा उनले आफ्नो मनमा सधैंका लागि छाप बनाएर राखेका छन् ।

‘संघर्षलाई कसरी लिनुहुन्छ ?’ भन्ने प्रश्नमा गायक निमा पाख्रिन लामाले केही गम्भीर हुँदै उत्तर फर्काए,‘संघर्षले नै अनुभव बटुल्दै मान्छेलाई सफल बनाउँछ । संघर्ष नै जीन्दगी हो । संघर्ष धेरै गरियो, अझै गर्नुछ ।’ उनको जवाफको पृष्ठभूमिमा उनले बितेका दुई वर्षमा जीवन उभ्याउन गरेको लडाइँको कथा थियो । यसबीचमा उनी जीवनको लडाइँ लड्दै गर्दा सांगीतिक फाँटमा केही ओझेल परे । लड्दा–लड्दै आफूलाई पुनः उभ्याएरै छोडे । र त अहिले उनी संगीतप्रेमी माझ फेरि उदाउँदै छन् ।
काठमाडौं चुच्चेपाटीस्थित होटेल हायातको ग्राउण्डमा भर्खरै सम्पन्न ‘तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव’ मा गायक निमाले स्टेजमा आफूलाई उभ्याएका थिए । उनले दिल खोलेर सेलो गीत गाए अनि सम्पूर्ण उपस्थित दर्शकहरुलाई नचाए । उनका लागि यो पल निकै विशेष थियो र रहनेछ । उनको गीतसंगीतलाई माया गर्ने संगीतप्रेमीहरुका लागि समेत उनको उपस्थिति नै अझै खास थियो । उनी दर्शकसँगै नाचे, झुमे अनि संगीतमा आफूलाई समर्पित गर्ने पुनः अर्काे अठोट लिए ।
सिन्धुपाल्चोक, भोटेकोशीमा बुवा क्षेत्रबहादुर र आमा धनमाया तामाङको ६ जनामध्ये कान्छो सन्तानका रुपमा वि.सं. २०४६ साल भाद्र २४ गते जन्मिएका निमाको सांगीतिक यात्रा झण्डै एक दशक भयो । यो एक दशकमा उनले नेपाली पप तथा सेलो गरी दुई दर्जनभन्दा बढी गीतहरु दर्शकश्रोतामाझ ल्याइसकेका छन् । आम संगीतप्रेमीहरुमाझ आफूलाई स्थापित गर्दै गरेका उनी अचानक दुई वर्षअघि थलिए । यात्राकै क्रममा दुबई पुगेका उनको एक्कासी शरीरको बायाँ भाग नै नचल्ने भयो । उनको बोली बन्द भयो । चिकित्सकले उच्च रक्तचापको कारण देखाए । त्यसपश्चात् उनी ह्वीलचियरमै बसेर स्वदेश फर्किए । ‘मलाई पहिलादेखि नै प्रेसर हाई नै थियो । डाक्टरले औषधी खान भन्नुभएको समेत थियो’, उनले खुल्लापत्रसँगको कुराकानीका क्रममा भने,‘तर मैले हेलचेक्य्राइँ गरिरहेँ । मेरो आमा पनि प्रेसरले नै बित्नुभएको हो । आफूलाई परेपछि मात्र बल्ल होस खुलेको छ ।’ नेपाल फर्केपछि निमाको दैनिकी फेरियो । अरुकै सहारामा कैयौं दिन बिते । बोल्न जिब्रो लर्बरिन्थ्यो । उनी आफ्नो फक्रिँदै गएको सांगीतिक जीवनलाई नियाल्थे अनि एक्लै रुन्थे । सोच्थे,‘अब म संगीतमा फेरि फर्कन सक्दिन होला । यसरी पुरै जीवन अरुको बोझमा बाँच्नुभन्दा त मरेकै बेस हुन्छ । फेरि अठोटका साथ मनमनै आफैंलाई बलियो बनाउँथे,‘म संगीतभन्दा अरुमा खुसी हुन सक्दिन । म जसरी पनि उठ्नुपर्छ र फेरि गीतसंगीतमै लाग्नुपर्छ ।’ त्यसपछिका पछिल्ला दुई वर्षमा उनले लगातार औषधीउपचार, थेरापी अन्य व्यायामहरु गरिरहे । आर्थिक तथा मानसिक रुपमा आफूलाई सहजता हुनेगरी उनले आफू पुनः उभिन सबै मेहनतहरु गरिरहे । बिस्तारै जिब्रोमा बोली फुट्दै गयो । बायाँ भागमा शरीरका अंगहरु चलायमान हुन थाले । उनले शरीरलाई चलाउने प्रयास जारी राखे । फलतः अहिले उनी फेरि सांगीतिक फाँटमा उभिएका छन् ।
आफूलाई पूर्ववत् अवस्थामा फर्काएर उनले संगीत साधनासँगै दुई/तीन वटा गीतहरु रेकर्डिङ गरिसकेका छन् । उनले हालै ‘टुङ्ना र डम्फू’ बोलको गीत आफ्नै युट्युब च्यानलमार्फत दर्शकश्रोतामाझ सार्वजनिक गरिसकेका छन् । ‘मेरो सम्झनामा तिमी’ बोलको गीतबाट उनले सांगीतिक यात्रा सुरु गरेका थिए । उनले ‘आउ–आउ कान्छि’, ‘तुम्बाको तातोपानी’, ‘माथि–माथि’, ‘हिमाली खर्क’, ‘माया तिमीलाई नै’ लगायतका गीतहरुमा स्वर दिएका छन् । उनी हालसम्ममा ‘जम्बुलिङ इन्टरनेशनल अवार्ड’, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिएको उत्कृष्ट तथा जुरी ‘रारा राष्ट्रिय म्युजिक अवार्ड’, ‘ज्योति फिल्मस् म्युजिक अवार्ड’, ‘ओएस नेपाल म्युजिक अवार्ड’, थाइल्याण्ड, सिंगापुर र मलेसिया आयोजित ‘सिल्भर इन्टरनेशनल म्युजिक अवार्ड’ लगायतका पुरस्कार तथा सम्मानबाट सम्मानित भएका छन् ।
उनले अझैपनि आफूलाई शारीरिक हिसाबले पूर्ण रुपमा स्वस्थ भएको उनलाई लागेको छैन । यद्यपि मानसिक रुपमा आफूलाई सक्षम रुपमा उभ्याउने प्रयास गरिरहेको उनी सुनाउँछन् । ‘मेरो पछिल्लो गीतहरु लो स्केलमा छन् । खासमा म पप संगीततिरबाट आएको हुनाले आई स्केल नै हुन्छ । तर आवाजले साथ दिएको छैन । अहिले पनि बेला–बेलामा बोल्दा जिब्रोमा बोली स्पष्ट आउँदैन । गाउनलाई कोसिस चाहीँ गरिरहेको छु’, उनले सुनाए ।
अहिले पनि उनी एक्लै हुँदा आफ्नो जीवनमा घटेको घटनालाई सम्झिन्छन् । आफ्नो शरीरलाई नियाल्छन् र तर्सिन्छन् । किनकि उनलाई आफू फेरि यसरी उभिन पाउँछु भनेर मनमा लागेको थिएन । आफ्ना सिर्जनाहरु गुनगुनाउँछन् र शरीरको गतिलाई हेरेर आफैंमा खुसीको उत्सव मनाउँछन् । कुराकानी गर्दागर्दै भावुक भएको उनको मुहारमा खुसीको रंग भरियो । मीठो मुस्कानका साथ भने,‘अरु मान्छेहरुलाई प्यारालाइसिस भएपछि जीवनभर अरुले हेर्नुपर्छ । धेरैलाई निको हुँदैन भन्छन् । म त अहिले यतिको भएपनि भएको छु । म त आफूलाई भाग्यमानी ठान्छु । मैले नयाँ जीवन पाएँ ।’ यो नयाँ उपहार स्वरुप पाएको जीवनलाई संगीत क्षेत्रमा फलदायी बनाउने उनको अठोट छ ।
गाउँबाट काठमाडौं छिरेपछि दैनिकी चलाउन उनले थाङ्का कोर्ने काम गरे । थाङ्का कोर्दाकोर्दै उनी संगीततिर होमिए र रहरैरहरमा गीत रेकर्डिङ गरे । बितेका १० वर्षमा शारीरिक, मानसिक तथा आर्थिक कठिनाइहरुमा उनले जुध्न सिके । सांगीतिक जगतका धेरैले उनको स्वास्थ्य लाभको कामनासँगै सहायता जुटाए । जुन कुरा उनले आफ्नो मनमा सधैंका लागि छाप बनाएर राखेका छन् । बितेका समयले उनलाई जीवनलाई माया गर्न सिकाएको छ । बोल्दाबोल्दै उनी फेरि निकै शान्त रुपमा फर्किए र उनले अरुलाई पनि सुझाए,‘शरीरमा केही भएमा सानो मानेर त्यसलाई बेवास्ता नगरौं । अझ प्रेसरलाई त ख्याल गर्नैपर्छ । शरीरलाई माया गरौं ।’
सबै बाँचेको भूगोलमा आफू बाँचेर अरुका लागि पनि बचाउनुपर्छ है भन्ने ज्ञात उनलाई भएको छ । जुन कुरा संगीतबाट पूरा गर्न चाहन्छन् । शरीरले साथ दिएमा उनी सिर्जनामै लाग्ने प्रण गर्छन् । विशेषत सेलो संगीतमार्फत आफ्नो समुदायको संस्कृति, भाषा, सभ्यता र जातिलाई माथि उठाउने  उनले सोचेका छन् । समय पुस्ता अनुसार गीतसंगीतलाई मौलिकता नमर्ने गरी परिमार्जित गर्नुपर्ने धारणा राख्ने उनी सिर्जनाले समुदाय र जातिलाई प्रतिकुल प्रभाव पार्न नहुने बताउँछन् । उनका अनुसार सर्जकले बजारमा क्षणिकतालाई अंगाल्ने भन्दा पनि आफ्नो पहिचानलाई सँगसँगै डोर्‍याउँदै लैजानुपर्छ ।

SHARE