सरकारले थाङ्का/पौभा कलालाई चिन्न नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री कान्छाराम तामाङले बताएका छन् । बुधबार ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी स्थलमा ‘थाङ्का/पौभा विशेष प्रदर्शनी’को उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
‘सरकारले यस्तो थाङ्का कलालाई, मूर्ती कलालाई चिन्न सकेको छैन’, उनले भने, ‘थाङ्काबाट कति डलर भित्रियो, कति पर्यटक आए, कति पर्यटक बाहिर लगे सरकारले बुझेको छैन ।’ उनले प्रदर्शनी उद्घाटनमा आदिवासीको मात्र उपस्थिति भएको भन्दै अन्य समुदायले पनि बुझ्नुपर्ने बताए । यसका लागि अरूलाई बताइदिने व्यक्ति आवश्यक भएको उनले औँल्याए ।
‘यहाँ धेरै जनजाति मात्र देखिनुभयो । तामाङ, नेवार देखिनुभयो’, उनले भने, ‘अरू खोइ ? अरूलाई हामीले देखाउनुपर्ने । कसले देखाउने हो ? कसले बुझाउने हो ?’
राज्यमन्त्री तामाङले आफूभन्दा पनि प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अर्थमन्त्रीलाई प्रदर्शनीमा बोलाएर देखाउनुपर्ने बताए । ‘म भन्दा पनि ठुलो प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्यूलाई देखाउन सकियो भने यो भन्दा राम्रो काम हुनसक्छ’, उनले भने । यद्यपि आवश्यक परेको जुनसुकै स्थानमा आफूले सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
यसैगरी प्रदर्शनीमा राखिएका थाङ्का/पौभाको अवलोकन गर्दै राज्यमन्त्री तामाङले कलाकारबाट भगवान निर्माण गरिएको प्रतिक्रिया दिए । ‘मलाई भगवानहरूको दर्शन गर्ने अवसर दिनुभयो, यसका लागि धन्यवाद’, उनले भने, ‘बनाइएका थाङ्का/पौभामा सास मात्र हाल्न बाँकी जस्तो देखियो । यस्तो राम्रो कला निर्माण गर्नुहुने तपाईँ कलाकारहरूलाई धन्यवाद दिन चाहन्छु ।’
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कहिलेकाहीँ कलाकारले कला र सिर्जनासँग मात्र एकोहोरिएर चित्रकला निर्माण गर्ने गरेकाले त्यो बाहेक पनि अर्को विषय हुनसक्नेप्रति जानकार हुनुपर्ने बताए । कलालाई बहुआयामिक तवरले हेरिनुपर्ने तथा प्रयोग गरिनुपर्ने उनको भनाइ थियो । बहुआयामिक तवरले नहेर वा प्रयोग नल्याइए कलाको अर्थ नहुने उनले बताए ।
वागमती प्रदेशसभाका सांसद् युवराज चौलागाईँले थाङ्का राष्ट्रिय कला भएकाले यो लेख्ने कलाकारले गर्व गर्नुपर्ने बताए । यस्तो अवस्था सिर्जना गर्नका लागि सबै जनताको भूमिका उल्लेखनीय रहेको उनले बताए । जनताको वलिदानीकै कारण ब्राह्मण जातिले रेखी हाल्दा गर्व गर्ने र थाङ्का बनाउँदा चाहिँ नाक खुम्च्याउनुपर्ने स्थिति बदलेर दुवैले गर्व गर्ने स्थिति निर्माण भएको उनको भनाइ थियो ।
यसैगरी सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले आफू पनि थाङ्का बनाउने तथा व्यापार गरेकाले कलाको महत्व बुझेको बताए । ‘यसको महत्व बुझेर नै पकेट क्षेत्र घोषणा गरिएको हो’, उनले भने । अधिकांश कलाकार राजधानी काठमाडौंमै रहेको र रहन खोज्ने भएकाले आफूले गाउँको विकास र आर्थिक समृद्धिका लागि भनेर पकेट क्षेत्र घोषणा गरी थाङ्का/पौभा लेख्ने तालिम कार्यक्रम गर्न सहकार्य गरेको जानकारी दिए ।
प्रतिष्ठानमा बिहीबार (आज)बाट सुरु भएको प्रदर्शनी वैशाख ६ गतेसम्म चल्नेछ ।