बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउँदै क्यान्सर अस्पताल

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो ।अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि सर्भेको काम सकिएको छ । सर्भेको काम सकेर चीन सरकारलाई पहिलो कार्ययोजना पठाइएको भन्दै परियोजना अघि बढ्ने बताए । उनका अनुसार रु ११ करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो ।

चिनियाँ प्राविधिकसँग यस विषयमा छलफल भइरहेको डा पौडेलले बताए । “बोनम्यारोलाई चलनचल्तीको भाषामा यसलाई रगतमासी भनिन्छ । क्यान्सरका कारण बोनम्यारो फेर्नुपर्ने बिरामीलाई विदेश जानबाट रोक्नका लागि यो काम थालेका छौँ”, उनले भने । बोनम्यारो फेर्नका लागि नेपालबाट मासिक १०–१२ जना भारत जाने गरेका भन्दै डा पौडेलले युनिट सञ्चालनमा आएपछि विदेश जानुपर्ने बाध्यता हट्ने बताए ।

उनका अनुसार निर्माण सुरु भएको दुई वर्षभित्र सम्पन्न गरेर सेवा सञ्चालन गर्ने योजनाअनुसार अस्पतालले काम गरिरहेको छ ।अस्पतालले जग्गा उपलब्ध गराउने जनाउँदै डा.पौडेलले चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा युनिट निर्माण गरिने बताए ।

भवन निर्माणदेखि आवश्यक सम्पूर्ण उपकरण, दक्ष प्राविधिक, प्राविधिकलाई तालिमलगायत व्यवस्था चीन सरकारले उपलब्ध गराउने उनको भनाइ थियो ।

SHARE