झोडा शिल्पी थिएटरको गोठाले नाटक घरमा मञ्चन सुरू

चुलाचुली रङ्गमञ्चको प्रस्तुति रहेको नाटक झोडा बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरको गोठाले नाटक घरमा मञ्चन सुरू भएको छ ।

साहित्यकार गणेश रसिकको आकाशगंगाको ओतमुनि उपन्यासमा आधारित नाटकलाई सुमन लिङ्देनले नाट्य रूपान्तरण गरेका हुन् । आदिवासी जनजाति मध्ये धिमाल र कुमाल जातिले जङ्गललाई प्रचलनको भाषामा झारु भन्ने गर्दछन् ।

धिमाल भाषामा दुईखोला बीच फैलिएको जङ्गलको भूभागलाई झोरा भनिन्छ । त्यहाँ झोरा शब्दको अप्रभंस नै कालान्तरमा झोडा बन्न पुग्यो । ।

तराईको भूफैलावटको बनझड झोडा आवाद र त्यसको राजनैतिक स्वामित्व प्राप्तिको संघर्षको कथालाई नाटक झोडामा देखाइएको छ । विस २०२० देखि २०३४ सम्म झोडा आवादको त्यहीँ संक्रमणकालीन समय र संघर्ष नै नाटकको मुख्य विषयवस्तु रहेको छ । करिब १ घण्टा ३० मिनेट लामो नाटकलाई चेतन आङथुपोले निर्देशन गरेका छन् ।

नाटकमा कलाकारहरू मन कुमार योङ्गहाङ, रमिला राई (रमिता), उदय वेघा, बेन्वो सन्तोष, मनिस मगर (प्रवीण), बविना राई, मिना नेम्बाङ राई, विपिसा राई, मनिक शंकर, युगल लिम्बु, दीपक खरेल, प्रवीण भण्डारी, चेतना आचार्य र बाल कलाकार प्रिन्स तामाङको अभिनय छ ।
नाटक, २२ फागुनसम्म मंगलबार बाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे  मञ्चन हुनेछ ।

SHARE