जिरीको विकासका आधारहरू

विकास भनेको सकारात्मक परिवर्तन हो । बौद्धिक विकास भन्ने पनि हुन्छ । बौद्धिक रूपमा जनताका अनेकौँ समस्याहरूको समाधान गर्न सक्नुपर्छ । फेरि जनताको समस्या समाधान चाहिँ कति गर्न सकिन्छ श्रोत साधनले पनि निर्धारण गर्छ । श्रोत साधनको विषयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको मापदण्डको आधारमा हुन्छ । जिरी जस्तो नगरपालिकाको लागि आन्तरिक श्रोत पर्याप्त नभएका स्थानीय तहका लागि संघीय सरकार र प्रदेश सरकारको नियमित अनुदानमा भर पर्नुपर्ने हुन्छ ।

हाम्रा सपना अनि चाहनाहरू ठूला भएपनि श्रोत साधनको कमीले गर्दा विकासको फड्को मार्न सकिदैन । जिरीमा हामीले देखेका सपनाहरू पनि त्यस्तै भइरहेका छन् । आवश्यकताहरू हिजो, आज र भोलि परिवर्तनशील पनि हुने भएकाले सोचे जति र गर्न मन लागे जति काम हुन सकेको पक्कै छैन ।

जिरी भौगोलिक रूपमा पहाडी क्षेत्रमा अवस्थित छ । मुख्यगरी यहाँ पर्यटनलाई अगाडि बढाउन सकिन्छ । यसलाई स्विजरल्यान्डको एक सहरको नामसँग मेल खाने स्थान भनेर पनि भन्ने गरेको पाइन्छ । यसले गर्दा यो पर्यटनको लागि अघि छ । त्यस्तै यहाँ कृषिलाई पनि प्राथमिकता दिनुपर्ने हुन्छ । यी दुई वटा कुरा मुख्य भए । यद्यपि शिक्षा र स्वास्थ्य पनि नभई नहुने विषयहरू हुन् ।

जिरी पर्यटकीय नगर हो । यो आन्दमय स्थान हो । तपाईं जोसुकै पनि घुम्न आउन सक्नुहुन्छ । प्रकृतिको आनन्द लिन सक्नुहुन्छ । यहाँ लामो समयको कामपछि थकान मेटाउन र रिफ्रेस हुनका लागि आउन सक्नुहुन्छ । तपाईं हाइकिङका लागि आउन सक्नुहुन्छ । यहाँ ठूलढुङ्गा, खुजुलुङ गुम्बालगायत स्थान घुम्न सक्नुहुन्छ । खुजुलुङ गुम्बा दोलखा जिल्लाकै सबभन्दा ठूलो र राम्रो गुम्बा हो । यी स्थानहरू घुम्नुभयो भने तपाईंलाई नयाँ सोच आउँछ । थकित र व्यस्त जिन्दगीमा थकान मेटेर ताजकीपन पनि पाउनुहुन्छ । आनन्दमय स्थान जिरी भ्रमणका लागि तपाईं सम्पूर्णलाई निम्तो पनि छ ।

सडक सञ्जालको आवश्यकता छ । प्रत्येक गाउँ टोललाई सडक सञ्जालले छोए पनि त्यो दिगो हुन सकेको छैन । राम्रो स्तरोन्नति हुन सकेको छैन । स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । यद्यपि हामीले सोलिङ गरेर सडकको स्तरोन्नति गर्ने प्रयत्न गरेका छौँ । त्यसले गर्दा जनताले आफ्ना घरायसी तथा अन्य विभिन्न किसिमका ढुवानी गर्न सहजता पाएका छन् । स्वास्थ्यका लागि आवश्यक परेको बेला एम्बुलेन्स गुडाउन सकिने अवस्थाका सडक बनेका छन् । हामीले थप गर्नुपर्ने काम र कर्तव्य अझै धेरै नै छन् । हामी हाम्रो कार्यकाल अधुरा रहेका कामहरू सम्पन्न गर्ने चरणतिर लाग्नेछौँ ।

खासगरी जिरीको विकास यहाँको स्थानीय आवश्यकताका आधारमा गर्नुपर्छ । यहाँको श्रोत साधनहरूको प्रयोग, परम्परा सबैलाई मध्यनजर गरेर सकारात्मक रूपमा भौतिक र बौद्धिक दुबै पक्षबाट विकास गर्नुपर्छ ।

स्थानीय संस्कृति आफैमा धनी
जिरी सांस्कृतिक नगर पनि हो । जिरेल, शेर्पा, तामाङलगायतका समुदाय जनजातिहरू बसोबास गरेको जिरी हो । परम्परागत रूपमा हाम्रा संस्कृतिहरू आफैमा सु–सम्पन्न छन् । श्रोत साधन सानो हुँदाहुँदै पनि हाम्रो जिरी नगरपालिका तथा मेरो वडाले त्यस्ता संस्कृतिहरू संवद्र्धन र प्रवद्र्धनका लागि कार्यक्रम बनाउने र कार्यान्वय गर्ने गरेको छ ।

सार्वजनिक कार्यक्रम गर्दा सबै समुदायका संस्कृतिलाई प्रतिनिधित्व गरेर सांस्कृतिक झल्को देखाउने कार्यक्रम गर्ने गरिएको छ । नगरपालिकाबाट त्यसमा टेवा दिने गरिएको छ । संस्कृति र परम्परामा सोचे जति ठूलो सहयोग गर्न सकिएको छैन होला । तर हाम्रो गच्छेले भ्याएसम्मका कार्यक्रमहरू गर्ने गरेका छौँ ।

हामीले महिला समूहलाई सामूहिक बाजागाजा कार्यक्रम भनेर संस्था खडा गरेका छौँ । त्यसले अहिले नौमति, पञ्जेबाजा राम्रो र व्यसायिक रूपमा बजाइरहेको छ । त्यो समूहलाई पालिकाले बजेट दिएर प्रशिक्षण दिएको हो । यसले लोक परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने काम गरेको छ । यो कार्यक्रम धेरै राम्रो भएको छ । जिरीमा जुनसुकै सार्वजनिक वा साझा कार्यक्रम हुँदा त्यही महिला समूहले नै पञ्चे तथा नौमति बाजा बजाउने गरेको छ ।

गाउँघरमा दुई जना बुढाबुढी वा विदेश जान तयारी युवा मात्र !
गाउँघरका धेरै जमिनहरू बाँझो छन् । बाँझो जमिन भएपछि उत्पादन घट्ने भयो । श्रम गर्ने जनशक्ति गाउँघरमा नबस्दा उत्पादन घट्यो । राज्यसँग उत्पादन लक्षित विशेष कार्यक्रम नभएर पनि यस्तो भएको हुनसक्छ । त्यस्तो लक्षित विशेष कार्यक्रम भएदेखि जनशक्ति पलायन हुँदैन थियो होला ।

अहिले धेरैजसो घरमा दुई जना बुढाबुढी वा विदेश जान लागेको युवा मात्र छन् । अनि कतिपय चाहिँ विदेश जान लाग्दा मेडिकल फेल भएकाहरू मात्र छन् । कि त जागिर खाने शिक्षकहरू छन् । गाउँ एकदमै रिक्तो भएको आभास हुन्छ । यसले कुनै दिन विकराल परिस्थिति सिर्जना हुनसक्दैन भन्न सकिन्न । यो जिरीको मात्र होइन । पूरै मुलुकको समस्या हो । यसको समाधानतिर लागिएन भने पक्के समस्या ठूलो हुनेछ । हामीले जनशक्ति पाउन छाड्नेछौँ । मुलुकले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ ।

अर्गानिक जिरी
जिरी पर्यटनका लागि मात्र नभएर कृषिका लागि पनि हो भनेर माथि नै भनिसकियो । जिरीलाई अर्गानिक कृषिका लागि भनेर परिचित गराउनु छ । यो अर्गानिक नै पनि छ । जिरी आफैमा प्राकृतिक रूपमा अर्गानिक हो ।

जिरीबाट बस चढ्नेवित्तिकै मलाई विषादी हालेको तरकारी खाने सहर हिँडे जस्तो लाग्छ । जिरीमा हामी अर्गानिक सागसब्जी खाएको बानीले यता काठमाडौं आएपछि टमाटरमा पनि विष हालेको होला, अर्को तरकारीमा पनि विष हालेको होला भन्ने लाग्छ । अनि यसले चाहिँ स्वास्थ्यमा असर गर्ने भयो भनेर अप्ठ्यारो अनि डर महसुस हुन्छ । फेरि डराए पनि भएन । भोक मेटाउनुपर्‍यो । बाँच्नका लागि खानुपर्‍यो ।

(जिरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष ङिमा पल्दे शेर्पासँग गरिएको कुराकानीमा आधारित)

SHARE