गुम्बाका लागि कविता

पोखराः बुद्ध पूर्णिमाको अवसर पारेर पोखरामा कवि रमेश श्रेष्ठले एकल कविता वाचन गरेका छन् । श्रेष्ठले सोमबार ‘बुद्ध र कविता’ शीर्षकमा एकल कविता वाचन गरेका हुन् । पोखरामा नयाँ गुम्बा निर्माणका लागि अर्थ संकलन गर्ने उक्त कविता वाचनको उद्देश्य थियो । टिकट काटेर साहित्यप्रेमीले कवि रमेश श्रेष्ठको कविता सुने ।

कार्यक्रममा श्रेष्ठले एक दर्जन कविता सुनाए । बुद्ध दर्शन, बुद्धका कथा उनको कविताका विषय थिए । ‘मेरो बिहानको शुभारम्भ’ शीर्षक कविताबाट वाचन सुरु गरेका श्रेष्ठले बीचबीचमा बुद्धसम्बन्धी आफ्ना धारणा पनि राखे । ‘कविता आफ्नै लागि लेखिरहँदा अरूका लागि पनि भइदियोस् भन्ने मेरो चाहना हुन्छ,’ उनले भने । बुद्धको नाममा, तिम्रो मायामा रुझ्ने रहर, लुतन हिंसा, आम्रपालीलगायत शीर्षकका कविता सुनाएर उनले बुद्ध दर्शन र साहित्यानुरागीलाई काव्यको रसस्वादन गराए ।

सधैं भिन्न विषय र शैली समात्ने आफ्नो प्रयास रहने बताउँदै कवि रमेशले यसपालि बुद्धको विषय छनोट गर्न पाउँदा गर्व लागेको बताए । बौद्ध अर्घौ सदनले बुद्ध पूर्णिमाको छेकोमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा कवि रमेशका कविता वाचन पनि समेटिएको हो । सदनका अध्यक्ष भुवनसिंह गुरुङले बुद्ध पूर्णिमामा कविता कार्यक्रम पहिलोपटक आयोजना गरिएको जानकारी दिए ।

SHARE