संसद्‍मा सुरक्षा चुक, गृहमन्त्री रुष्ट

नयाँ बानेश्वर स्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे छलफल गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूलाई सिंहदरबारमा बोलाएका छन् । तीनवटै सुरक्षा निकायका प्रमुखहरू र गृहमन्त्री श्रेष्ठबिच अहिले गृह मन्त्रालयमा छलफल भइरहेको छ ।

बैठकमा नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी छन् ।

उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी पनि बैठकमा सहभागी छन् ।सुरक्षा प्रमुखहरूले संसद् भवन परिसरमा लघुवित्तका ऋणीहरू प्रवेश गरेकोबारे ‘ब्रिफिङ’ गरिरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

सो घटना छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।

SHARE