पोखरामा स्वर्गीय रवीन्द्र अधिकारीको सम्झना

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले मंगलबार पोखरामा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएको छ ।पोखरा १८, मेथ्लाङमा रहेको स्व. अधिकारीको पूर्ण कदको शालिकमा माल्यार्पण गर्दै उनको छैटौं स्मृति दिवस मनाइएको हो ।

६ वर्षअघि फागुन १५ कै दिन ताप्लेजुङमा पर्यटनमन्त्री रहेकै बखत हेलिकप्टर दुर्घटनामा अधिकारीको मृत्यु भएको थियो ।सोही दिन पारेर ०७५ फागुन १५ गते मेथ्लाङमा रहेको राष्ट्रिय विभूति तथा शहीद पार्कमा अधिकारीको शालिक अनावरण गरिएको थियो । त्यही शालिकमा प्रतिष्ठानले बर्सेनि माल्यार्पण गर्दै आएको छ ।

माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले रवीन्द्र एक सच्चा र बहुआयामिक व्यक्तित्व भएको स्मरण गरे ।

उनले अधिकारीको अभाव नेपाली राजनीतिले गरिरहने सुनाए । ‘रवीन्द्र अधिकारीजी वास्तवमै बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । कला, साहित्य, लेखन, विचार निर्माण, प्रवाह, प्रशिक्षण सबैमा धनी हुनुहुन्थ्यो’, अधिकारीले भने, ‘नेपालको राष्ट्रिय राजनीतिमा अतुलनीय योगदान छ । बेलाबेलामा उहाँको अभाव खट्किरहन्छ ।’

स्व अधिकारीले सधैं निष्ठाको राजनीति गरेकाले खोट लगाउने कुनै ठाउँ नभएको अधिकारीको भनाइ थियो । ‘उहाँलाई शब्दबाट मूल्यांकन गर्न सक्ने सीमाभित्र पर्नुहुन्न’, उनले भने ।उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पुर्‍याएको योगदानको पनि स्मरण गरे ।

प्रतिष्ठानले मंगलबार नै स्व. अधिकारीको घर, पोखरा ३३ भरतपोखरामा स्मृति सभा गर्नेछ भने साँझ पोखरा ५, मालेपाटनमा रहेको रवीन्द्र बाटिकामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका महासचिव तथा पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।

SHARE