अर्थमन्त्री र एडीबी कन्ट्री डाइरेक्टरबीच परियोजनालाई गति दिन छलफल

एसियाली विकास बैंक (एडीबी) कन्ट्री डाइरेक्टर आर्नो कोशवा र अर्थमन्त्री वर्षमान पुनबीच विभिन्न आयोजनालाई गति दिनेबारे छलफल भएको छ ।सिंहदरबारमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे ।

त्यस क्रममा उनले एडीबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजना सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए ।विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडीबीले निर्माण गर्न चाहेको जलाशययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास समेत कोशवाले व्यक्त गरे ।

जवाफमा मन्त्री पुनले प्रमुख विकास साझेदार एडीबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा गरे ।आफू ऊर्जामन्त्री भएका बेला अघि बढेका दूधकोशी र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता उनले जनाए ।२० वर्षपछि विश्व बैंक र एडीबीले एकै आयोजनामा लगानी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरे ।

‘दूधकोशी जलासययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्ये हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकोमा एडीबीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।पुनले नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको भन्दै त्यसमा सुधार गर्न खर्च गर्ने क्षमता र विकास खर्च गर्न सक्ने जनशक्ति विकास गर्ने गरी कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए ।

SHARE