नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ। फिफा विश्व कप र एसियन कप संयुक्त छनोट अन्तर्गत बहराईन विरुद्ध हुने खेलको तयारीका लागि नेपालले मलेसियासँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शाह आलमस्थित यूनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा हुनेछ ।अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुनेछ र दर्शकलाई प्रवेश गराइने छैन । यस्तै खेलको प्रत्यक्ष प्रसारण समेत नहुने एन्फाले जनाएको छ ।
अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई (सन्जित), विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक टिममा परेका हुन् ।मलेसियासँग खेलेपछि नेपाली टोली उतैबाट बहराइन जानेछ ।नेपाल र बहराइनबीच यही चैत ८ र १३ गते बहराइनमै खेल हुनेछ । होम एण्ड अवेका आधारमा छनोटका खेलहरु हुने गरेपनि दशरथ रंगशाला खेल खेलाउन लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि बहराइनमा हुन लागेको हो ।