गुण्डा नाइकेका रुपमा परिचित दिपक मनाङे अर्थात राजीव गुरुङ पक्राउ परेका छन् । पछिल्लो समय उनको परिचय फेरिएको थियो । मनाङबाट चुनाव जितेर गण्डकी प्रदेशसभा सदस्य भएका उनी पटक–पटक मन्त्री समेत भए ।
सर्वोच्च अदालतले यही कार्तिक २० गते गरेको फैसलाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार बिहान काठमाडौंबाट उनलाई पक्राउ गरेको थियो।
पक्रापछि उनलाई डिल्ली बजार कारागारमा थुनिएको छ ।
आखिर किन पक्राउ परे त मनाङे ?
२०६१ साल बैशाख ३१ गते अर्का गुण्डा नाइके चक्रे मिलन भनेर चिनिएका मिलन गुरुङमाथि आक्रमण भएको थियो । काठमाडौंको पानीपोखरीस्थित चुफाङ रेष्टुरेण्टमा रहेका मलिनमाथि केही व्यक्तिले आक्रमण गर्दा उनको देब्रे हात नै छिनेको थियो । उक्त आक्रमणका मुख्य योजनाकार रहेको मुद्दाकै विषयमा अहिले मनाङे पक्राउ परेका हुन् ।
के थियो घटना ?
२०५० देखि २०६० को दशक र त्यस आसपासका केही वर्ष राजधानी काठमाडौंमा गुण्डाहरु चहल–पहल तथा गतिविधि धेरै हुने गर्थयो । एउटा समूहले अर्को समूहलाई आक्रमण गर्ने, दुई समूहका बीचमा ग्याङ फाइट चल्ने घटना धेरै हुन्छ ।
मनाङे त्यो समय ठमेल, दबारमार्ग क्षेत्रमा डान्सबार, रेस्टुरेण्ट व्यवसायमा जमेर बसेका व्यक्ति थिए । काठमाडौंका अन्य क्षेत्रमा यस्तै खाले व्यवसाय गर्ने चक्रे मिलन अर्को समूहको नेतृत्व गर्थे । यी दुई समूह बीच पटक–पटक ग्याङ फाइटका घटना हुन्थे । यस्तै झगडाका क्रममा मनाङे समूहले चक्रे मिलनलाई आक्रमण गरी तरबारले उनको हात काटिदिए ।
चक्रे मिलनकी श्रीमती इन्दिरा गुरुङले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । मनाङेलाई मुख्य योजनाकार मान्दै अन्य आधा दर्जनबढीलाइै पोलिएको थियो ।
काठमाडौं जिल्ला अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो । यो फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले पुनारावेदन अदालत पाटनमा मुद्दा दर्ता गरायो । पुनरावेदन अदालतले ज्यान मार्ने प्रयास गरेको ठहर गरी मनाङेलाई ५ वर्षको जेल सजायँ तोकेको थियो ।
घटनामा संलग्न भएको भनी जाहेरीमा नाम राखिएका अन्यलाई भने जिल्ला अदालत काठमाडौंले नै सफाइ दिइसकेको थियो । यसरी सफाइ पाउनेमा अहिले नेपाली कांग्रेसका नेता रहेका गणेश लामा समेत थिए । पुनरावेदन अदालतको उक्त फैसला सञ्चाउन माग गर्दै २०७५ साल फागुनमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
उक्त रिटमा सर्वोच्चले यही कार्तिक २० गते फैसला सुनाएको हो । पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको छ । सोही अनुसार मनाङे अहिले पक्राउ परेका हुन् ।
मनाङे यही मुद्दामा पटक–पटक जेल बस्दै छुट्दै गरेका छन् । त्यसमा उनको साढे २ वर्ष पूरा भइसकेको छ भने अब करिब साढे २ वर्ष उनी जेल बस्नुपर्नेछ।










