कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान

कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेका हुन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले विशेष अधिवेशन आह्वान माग गर्दै गत सोमबार समावेदन गरेका थिए।

प्रदेश सभाको एक चौथाइभन्दा बढी सदस्यले विशेष अधिवेशन माग गर्दै समावेदन गरेका थिए। बुधबार सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १८३ को उपधारा ३ अनुसार वैशाख ६ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।

मुख्यमन्त्री केदार कार्कीले भने गत चैत २६ गते प्रदेश प्रमुख समक्ष जेठ ११ गते प्रदेश सभा अधिवेशन बोलाउन सिफारिस गरेका थिए। सरकारले गरेको सिफारिसभन्दा अघि नै दर्ता भएको समावेदनअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन्।  एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन सोमबार फिर्ता लिएका थिए भने माओवादी मन्त्रीले पदबाट राजीनामा दिएका थिए।

विशेष अधिवेशनमा मुख्यमन्त्री अल्पमतमा पर्ने र उनले कि राजीनामा कि विश्वासको मत लिने अपेक्षा गठबन्धनको छ। मुख्यमन्त्री कार्कीले भने सविधानअनुसार सरकार बन्ने अन्तिम धाराबमोजिम सरकार भएकाले पदबाट राजीनामा पनि नदिने विश्वासको मत पनि नलिने बताउँदै आएका छन्।

नेपाली कांग्रेसबाट ‘विद्रोह’ गरेर गत असोज २७ मा कार्की मुख्यमन्त्री बनेका थिए। यो सरकारलाई विस्थापित गरेर नेकपा (एमाले) संसदीय दल नेता हिक्मतबहादुर कार्की नेतृत्वमा नयाँ सरकार बनाउने एमाले र माओवादीको तयारी छ। यसबारे उनीहरूले प्रदेश प्रमुखलाई भेटेर जानकारीसमेत गराइसकेका छन्।

koshinotice-1712745235.jpg