पूर्वी र पश्चिम चितवनबाट आउने सवारी नारायणगढ बजारसम्म जान पाउने

पूर्वी र पश्चिम चितवनबाट आउने सवारी साधान आगामी वैशाख १ गतेदेखि नारायणगढ बजार क्षेत्रसम्म जान पाउने भएका छन् ।नारायणगढको पूल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको करिब ६ किलोमिटर सडक ६ लेनमा विस्तार कार्य भइरहेकोले ती क्षेत्रबाट आउने सवारीलाई गत वर्ष पुस ७ देखि बजारसम्म जान रोक लगाइएको थियो ।

आगामी वैशाख १ गतेबाट यात्रुवाहक सवारीसाधन भरतपुर महानगरको रिङरोडमा ‘पिक एण्ड ड्रप’ गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलवार दिउँसो बसेको बैठकले गरेको हो ।यात्रुवाहक गाडीलाई रिङरोडमा सञ्चालन गर्न दिने विषयमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको छलफलमा सो निर्णय भएको हो ।

यात्रुबोकेर आउने सवारीले चौबीसकोठी, पुलचोक, नारायणगढ बसपार्क हुँदै आँपटारी बाइपासबाट केन्द्रीय बसपार्कमा पार्किङ गरी फर्कने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

पूर्वी र पश्चिम चितवनबाट आउने गाडीलाई केन्द्रीय वसपार्कमा नै रोकेर अटो वा साना सवारी साधन चढेर जानुपर्ने बाध्यता थियो । पछि पूर्वी र पश्चिम चितवन नेता तथा स्थानीय तहका जनप्रतिनिधीहरुले सो कार्यको तीव्र विरोध गरेपछि प्रशासनले भरतपुरको चौविसकोठीसम्म यातायातका साधन आउन दिएको थियो । उनीहरुले एउटै जिल्लाभित्र यात्रा गर्न कुनै पालिकाले रोक लगाउने कुरा गलत भएको भन्दैं त्यसलाई तत्काल सच्चाउन माग गर्दै आएका थिए ।

नारायणढ बजार क्षेत्रका व्यवसायीहरुले समेत ती सवारीलाई बजारसम्म नै आउन दिनुपर्ने माग गरेका थिए । ती सवारीहरु नआउँदा व्यवसाय चौपट भएको भन्दै महानगरसहित प्रशासनलाई निर्णय पुर्नविचार गर्न उद्योग बाणिज्य संघ चितवनले पनि दबाब दिंदै आएको थियो ।

सडक विस्तार भएर सम्पन्न हुने क्रममा रहेकोले यात्रुबाहक सवारीलाई बजार क्षेत्रमा ड्रप एण्ड पिकअप गर्न आउन दिन महानगर सहमत भएको हो । यसरी आउने सबै सवारी साधनहरुमा भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्धन गर्न ‘घुमौँ भरतपुर’को स्टिकर टाँस्नुपर्ने प्रावधान राखिएको छ ।

SHARE