खेलकुदमन्त्री चौधरीले उद्घाटन गरे नाडा नेपालको वेबसाइट, वेबसाइटमार्फत् एन्टी डोपिङबारे जानकारी दिइने

राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) को वेबसाइट उद्घाटन गरिएको छ । वेबसाइटको उद्घाटन खेलकुदमन्त्री तेजुलाल चौधरी सोमबार एक कार्यक्रमकाबीच गरेका हुन् ।

वेबसाइट मार्फत् खेलकुदमा हुने एन्टी डोपिङबारे जानकारी दिइने एजेन्सीका संयोजक डा. असिम भण्डारीले जानकारी दिए । उनले वेबसाइटमार्फत् डोपिङविरोधी अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

‘हाम्रो यो वेबसाइटमार्फत् डोपिङबारे धेरै जानकारी पाउन सकिन्छ । यसले डोपिङविरोधी अभियानमा महत्त्वपूर्ण योगदान पुग्नेछ’, उनले भने, ‘यस अभियानमा सधैं साथ सहयोग दिनुहुने सम्पूर्णमा धन्यवाद ।’

नयाँ वेबसाइटमार्फत आफूलाई जानकारी भएको डोपिङबारे जसले पनि उजुरी गर्न सक्ने बताइएको छ । उजुरीकर्ताको परिचय गोप्य हुने तथा नाम नबताइ पनि उजुरी गर्न सकिने बताइएको छ ।

साथै, वेबसाइटमा इ-लर्निङ प्लेटफर्म पनि प्रस्तुत गरिएको छ । त्यसले डोपिङविरोधी शिक्षा प्रदान गर्नेछ । यस प्लेटफर्मको माध्यमबाट सिकाइ पूरा गरेपछि, सहभागीलाई तुरुन्त प्रमाणपत्र प्रदान गरिनेछ, जसले खेलकुदका अधिकारी र खेलाडीहरूलाई डोपिङ नियम र नैतिक मापदण्डबारे सुसज्जित बनाउँछ। यसको प्रत्यक्ष अभ्यास पनि कार्यक्रममा गरिएको थियो ।

उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले कुनै पनि खेलाडीहरू डोपिङमा पर्न नहुने उल्लेख गरे । स्वच्छ खेलकुद अभियानको लागि ऐतिहासिक कार्य भएको भन्दै उनले नाडाको प्लेटफर्महरूले विश्वसनीय र इमानदार खेलकुदको सुनिश्चिततामा एक कदम अगाडि बढाउने उनको भनाइ छ ।

मन्त्री चौधरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा खेलाडीले प्रतिस्पर्धा कहिल्यै प्रतिबन्धको अवस्था सिर्जना नहुने शुभेच्छासमेत व्यक्त गरे ।

वेबसाइटको उद्घाटन कार्यक्रममा विभिन्न खेल महासंघका प्रतिनिधि, मन्त्रालयका अधिकारीहरू र अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो।

SHARE