‘भेनेजुएलामा ट्रम्पले हिंसा भड्काए’

काराकस : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशमा आतंकवादी गतिविधि र हिंसा बढाउन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको हात रहेको बताएका छन् । अमेरिकाले भेनेजुएलामा राजनीतिक नियन्त्रण कायम गर्न हिंसात्मक कदमलाई सहयोग गरेका उनको भनाइ छ । समाचार संस्था एफेका अनुसार मादुरोले आइतबार भेनेजुएलाका रेडियो र टेलिभिजनमार्फत सम्बोधन गर्दै हाल देखापरेको हिंसा, भिडन्त र अस्तव्यस्तका पछाडि ट्रम्पको सहयोग र समर्थन रहेको बताएका थिए । मादुरोले भने, ‘ट्रम्पको हात षड्यन्त्रमा फसेका छन्।

भेनेजुएलामा राजनीतिक नियन्त्रण गर्न उनले हामीलाई लक्ष्य बनाएका छन् ।’ त्सको विरोधमा उनले आफ्ना समर्थकहरूलाई मंगलबार शान्ति जुलुस निकाल्न आह्वान पनि गरेका छन् । भेनेजुएलामा लामो समयदेखि सरकारविरोधी प्रदर्शन भइरहेका छन् । शनिबार भएको प्रदर्शनमा पनि सुरक्षाकर्मीको गोलीबाट २३ वर्षीय युवकको ज्यान गएको थियो । प्रदर्शनकारीले सशस्त्र आक्रमण सुरु गरेकाले सरकारले गोली चलाएको बताएको छ ।

SHARE