किरात राई समुदायले उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै

वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले  उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ। यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।

किरात समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ।किरात समुदायमा पनि एकथरीले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन्। उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन्।

 

SHARE