नेपालको यू-१९ महिला क्रिकेट टोली विश्वकप छनोट, एसिया कप पनि खेल्न पाउने नेपालको यू-१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ ।
आज युएईमा भएको छनोट खेलमा युएईलाई हराउँदै नेपाली महिला टोलीले विश्व कपमा स्थान बनाएको हो। एसिया यु-१९ महिला टी-२० एसिया विश्वकप छनोटमा नेपाल, आयोजक युएई, कुवेत र थाइल्याण्ड सहभागी थिए । सबै टोलीले एक अर्काविरुद्ध दुई-दुई खेल खेलेका थिए ।
नेपाली शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा छनोट हुन सफल भएको हो । छनोट प्रतियोगिता ६ नोभेम्बरबाट युएईमा सुरु भएको थियो । नेपालले पहिलो खेल ६ नोभेम्बरमा थाइल्याण्डसँग खेलेको थियो । जसमा ६७ रनको जित हात पार्न सफल भयो । ७ नोभेम्बरमा दोस्रो खेल कुवेतविरुद्ध खेलेको थियो ।
उक्त खेलमा पनि नेपालले १०८ रनको फराकिलो जित निकाल्यो । ९ नोभेम्बरमा आयोजक युएईको समाना गर्दा नेपाल १३ रनले पराजित भएको हुनपुग्यो । १० नोभेम्बरमा थाइल्याण्डसँग दोस्रो खेल खेल्यो । जसमा १०६ रनको जित हात पार्यो । १२ नोभेम्बरमा नेपालले कुवेतसँग अर्काे खेल खेल्यो । यस खेलमा नेपालले १६५ रनको सानदाज जित हात पार्यो । आज दिउँसो अर्थात नोभेम्बर १४ मा नेपालले प्रतियोगिताको अन्तिम खेल युएईसँग खेल्यो ।
सबै खेलमा विजयी भएको युएई अंक तालिकाको शीर्ष स्थानमा थियो । शीर्ष स्थानमा रहेर यू-१९ विश्वकपमा छनोट हुन नेपाललाई युएईविरुद्ध राम्रो अन्तरको जित आवश्यक थियो । टस जितेर युएई यू-१९ महिला टोलीले सुरुमा ब्याटिङ गर्ने निर्णय गर्यो । युएईले २ ओभरमा ६ रन बनाउँदा पहिलो र ६.१ ओभरमा २२ हुँदा दोस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि राम्रो साझेदारी गर्दै युएईले लय पक्रिएको थियो । अन्तिमतिर लगातर विकेट गुमाउँदा २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कृष्मा गुरुङ एक्लैले ४ विकेट लिन सफल भइन् । ८४ रनको लक्ष्य पछ्याएको नेपाली यू-१९ महिला टोलीले १४.४ ओभरमा ८६ रन बनाउँदै जित हात पार्यो ।
यो जित विश्वकपमा छनोट हुनका लागि पर्याप्त बन्यो । यू-१९ महिला टी-२० विश्वकप प्रतियोगिता आगामी जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुँदैछ । उक्त प्रतियोगितामा १६ देशमा टोली सहभागी हुनेछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरी खेलाइँदैछ । नेपाल समूह डी मा परेको छ । यो समूहमा नेपाल, अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले १८ जनवरीमा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । आजको जितसँगै नेपाल पहिलो पटक हुन लागेको यू-१९ एसिया कपमा पनि छनोट भएको छ । यो प्रतियोगिता १४ डिसेम्बरदेखि २१ डिसेम्बर सम्म मलेसियामा आयोजना हुनेछ।










