स्थानीय तहमा रिक्त रहेका ४१ पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ। निर्वाचन भएको सबै स्थानको गरी समग्रमा ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
२ लाख २६ हजार ७९९ मतदाता रहेकोमा करिब ६२ प्रतिशत मतदान भएको छ आयोगले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि उप निर्वाचन भएको थियो ।
उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी ३७६ जना उम्मेदवार थिए ।
मतपेटिका जम्मा भइसकेपछि मतगणना हुने आयोगी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । अर्यालका अनुसार एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुनेछ । अन्य स्थानमा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरी गणना हुनेछ ।मतगणनाको परिणाम आयोगको वेबसाइटमा हेर्न सकिन्छ ।
मतदान सफल बनाउन भूमिका खेल्ने सबैलाई आयोगले धन्यवाद ज्ञापन गरेको छ । कतै आजै रातिबाट मतगणना हुनेछ भने कतै भोलि बिहानबाट मात्रै गणना सुरु हुने आयोगले जनाएको छ ।










