चितवनमा अन्तर्राष्ट्रिय युवा शिविर हुने

चितवनमा अन्तर्राष्ट्रिय युवा शिविर हुने भएको छ । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एल, नेपालको आयोजनामा पुस १९ देखि २१ गतेसम्म (जनवरी ३–५) तीन दिन ‘क्राउन दि भिजन इन्टरनेशनल युथ क्याम्प २०२५’ हुन लागेको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइएको हो ।

विश्वभरका युवाहरूलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा विविध परिदृश्यको अनुभव गराउन एवम् सामुदायिक सेवाको स्थायी भावनामा एकताबद्ध गर्न शिविरको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

शिविरमा नेपालसहित विभिन्न आठ मुलुकका ५० जना युवाहरूको सहभागिता हुने कार्यक्रम संयोजक लियो अभय थापाले जानकारी दिए । सहभागी ५० जनामध्ये १५ जना विभिन्न सात मुलुकका युवाहरू हुने र ३५ जना नेपालबाट हुने संयोजक थापाको भनाइ छ । त्यस्तै शिविरमा १० जना अन्य व्यक्तिलाई पनि सहभागी गराइने जनाइएको छ ।

‘भारत, बंगलादेश, पाकिस्तान, मलेसिया, थाइल्याण्ड, श्रीलङ्का र माल्दिभ्ससँग हाम्रो कोअर्डिनेशन भइरहेको छ’, संयोजक थापाले भने, ‘ती मुलुकबाट युवाहरूले शिविरमा आउने भन्नुभएको छ । तीमध्ये सबभन्दा धेरै भारत र बंगलादेशबाट सहभागिता हुनेछ ।’

सहभागी युवाहरूले व्यक्तिगत र व्यवसायिक क्षमता अभिवृद्धि गर्ने अवसर शिविरबाट प्राप्त गर्ने डिस्ट्रिक्ट सेक्रेटरी सम्राट जङ अइडीले बताए ।

‘उनीहरूलाई नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान र सामुदायिक निर्माणमा संलग्न हुने अवसर प्रदान गर्नेछ’, उनले भने, ‘समुदायमा सकारात्मक प्रभाव पार्न उत्प्रेरित १८ देखि ३० वर्ष उमेरका सबै युवाहरूका लागि क्याम्प खुला हुनेछ ।’

शिविरमा सहभागिताका लागि अनलाइन आवेदन दिनुपर्नेछ । प्राप्त आवेदनबाट युवाहरूको क्षमताका आधारमा ५० जनालाई छनोट गरिनेछ । ‘हाम्रो फारम वेबसाइटमा गएर अनलाइन फारम भर्नुपर्नेछ’, संयोजक थापाले भने, ‘त्यहाँ प्रश्नावली बनाएका छौँ । साथै टास्क पनि बनाएका छौँ । ती प्रश्न र हामीले दिएको टास्क कसरी समाधान गर्नुहुन्छ, त्यसको आधारमा छनोट समितिले युवाको छनोट गर्नेछ ।’

अनलाइन फारम बारे लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एल, नेपालको फेसबुक पेज र वेबसाइटमा जानकारी दिइनेछ ।

छनोट हुने युवाले तोकिएको रकम तिरेर सहभागी हुन पाउने उनले बताए । त्यस्तै छनोट भएका तीन जना युवालाई ‘स्कलरशिप’ को व्यवस्था हुने पनि उनले जानकारी दिए ।

शिविर हुनु पहिले १५ वटा भन्दा बढी ‘प्रि–इभेन्ट’हरू पनि हुनेछन् ।

SHARE