काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौ दीक्षान्त समारोह सम्पन्न भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा समारोह सम्पन्न भएको हो ।
समारोहमा २०८० असार÷साउन देखि २०८१ वैशाख÷जेठ सम्ममा उत्तीर्ण स्नातकोत्तर र स्नातक तहका विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका प्रमुख दुई अस्पताल वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरसहित सम्बन्धन प्राप्त विभिन्न अस्पतालका विद्यार्थीहरू दीक्षित भएका हुन् ।
स्नातकोत्तरतर्फ डीएम, एमडी, एमएस, एमडीएस, एमएन, एमएसी एमआइटीका विद्यार्थी दीक्षित भएका हुन् । त्यस्तै स्नातकतर्फ बीएनएस (क्रिटिकल केयर नर्सिङ), बीएमएस (मिडवाइफेरी साइन्सेस), बीएस्सी एमआईटी र ब्याचलर अफ अप्टोमेट्री एन्ड भिजन साइन्सका विद्यार्थी दीक्षित भएका हुन् ।
समारोहलाई सम्बोधन गर्दै सहकुलपति समेत रहेका स्वास्थ्य तथा जसङ्ख्या मन्त्री प्रदिप पौडेलले नेपालको चिकित्सा शिक्षाले विश्व बजारमा विश्वसनीयता बढाइरहेको बताए । त्यसप्रति गर्व गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री पौडेलले उत्पादित जनशक्तिलाई पलायन हुन नदिने गरी सरकारले कार्ययोजना बनाइरहेको बताए ।
लोकसेवा मार्फत् एकैपटक ठुलो जनशक्तिलाई सरकारी स्वास्थ्य सेवामा ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए । त्यस्तै सरकारी स्केल सरह सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब पु¥याउने नीतिगत व्यवस्था गर्न लागेको बताए । उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नतेका अनुसार न्याम्सबाट ३६८० जना स्वास्थ्य जनशक्ति उत्पादन भइसकेका छन् । उत्पादित जनशक्ति स्वास्थ्य क्षेत्रको उच्च ओहदासम्म आसिन रहेको उनले बताए ।