क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन् ।

हरेक वर्ष अङ्ग्रेजी महिनाको डिसेम्बर २५ तारिखका दिन क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झना गर्दै विश्वभरीका क्रिश्चियन धर्मावलम्बीले क्रिसमस डे मनाउने गर्दछन् ।

आजभन्दा दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा मरियमको कोखबाट येशु ख्रीष्ट (जिसस क्राइस्ट)को जन्म भएको थियो । येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास गर्दै क्रिश्चियन समुदायले शुभकामना तथा उपहार आदानप्रदान गरि यो पर्व मनाउने गर्दछन् ।

क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठुला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ । त्यस्तै गरि राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

क्रिसमस डे का अवसरमा शुभकामना दिंदै राष्ट्रपति पौडेलले यो पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भएको छ । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको बताउनु भएको छ ।

इसाई धर्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन गर्न आग्रह गर्नुभएको छ । क्रिसमस डे का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

SHARE