नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज काठमाडौँमा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ अयोजना सम्पन्न गरेको छ । उक्त उत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले उद्घाटन गर्नुभयो ।
उक्त उत्सवमा राज्यमन्त्री चौधरीले नेपालका रैथाने गीत संगीतको संरक्षणका लागि कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यसले देशको सङ्गीत सम्बन्धीको अनुभव आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उत्सवमा नेपाली लोकसङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र सांस्कृतिक विविधताको बहुआयामिक प्रस्तुति भइरहेको छ । उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका वुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र कलेजका विद्यार्थीलाई समेत सहभागी थिए।
अहिले जारी उत्सवमा कोशी प्रदेशबाट आठ पहरिया राई जातिको ढोल नाच, माखण्डासे गीत, मधेस प्रदेशबाट मिथिला सङ्गीत र भोजपुरी गीत, बागमती प्रदशेबाट घ्याङ्ताङ निस्से नाच र फकन्दली नृत्य (नेपाल भाषा) प्रस्तुत गरिएको थियो।
यस्तै गण्डकी प्रदेशबाट झाम्रे र यानिमाया नृत्य, लुम्बिनी प्रदेशबाट डिग्रे पैसरी र लस्के नृत्य, कर्णाली प्रदशेबाट टप्पा गीत र झ्याउरे नृत्य, सुदूर पश्चिमबाट देउडा र छलिया नृत्य प्रस्तुत भएको थियो ।
उत्सवमा कवि लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो?’ कवितालाई वीरेन्द्र हमालको निर्देशनमा नाट्यमञ्चन समेत गरिने जनाइएको छ ।
सातै प्रदेशका चर्चित तथा उदाउँदा कलाकारलाई एउटै मञ्चमा सहभागी गराइएको उत्सवले नेपाली मौलिक धुन, वाद्ययन्त्र र नाट्य परम्पराको पुनरावालोकन गर्दै नवप्रवर्तनशील सिर्जनशीलतालाई उजागर गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रम संयोजक प्रतिष्ठानका उपकुलपति शम्भू राईले बाह्य संस्कृतिको उपनिवेश एवम् आन्तरिक सांस्कृतिक दबदबाका कारण अल्पसङ्खयक जाति–भाषी समुदायका लोकसंस्कृति लोपोन्मुख अवस्थामा पुगेकोले ती लोक संस्कृति जगेर्नाका लागि पनि प्रज्ञा–प्रतिष्ठानले यस खाले उत्सव आयोजना गरेको बताउनुभयो ।
उद्घाटन समारोहमा प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा, प्रगतिले स्वागत मन्तव्य दिँदो उत्सवमार्फत सङ्गीत तथा नाट्य क्षेत्र महत्वलाई अझ माथि पुर्याउने प्रयास गरिएको बताउनुभयो ।










