काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालको विषम परिस्थितिमा पनि मुलुकलाई संविधानको दायराभित्रै रहेर निकास दिन सकिने बताएका छन्। उनले आन्दोलनकारी नागरिकहरूको जायज माग सम्बोधन गर्दै लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएका छन्।
आज (बिहीबार) जारी गरेको विशेष अपिलमा राष्ट्रपति पौडेलले हालको परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै आन्दोलनको समाधान संवाद र सहमतिको बाटोबाट खोज्न सकिने उल्लेख गरेका छन्। उनले भने, “हामी सबै मिलेर संविधानलाई आधार मानेर अघि बढेमा लोकतन्त्रको संरक्षण, सुशासनको प्रत्याभूति र जनताले खोजेको शान्ति सुव्यवस्था सम्भव छ।”
राष्ट्रपतिले विशेषगरी युवापुस्ताले उठाएका मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्। उनले नागरिकको आवाजलाई बेवास्ता गर्दा अस्थिरता र अविश्वास अझै बढ्ने चेतावनी पनि दिएका छन्।
उनले आन्दोलनकारीलाई शान्तिपूर्ण ढंगले आफ्ना माग राख्न र राज्य पक्षलाई बल प्रयोगमा भन्दा समाधानमुखी पहलमा ध्यान दिन आह्वान गरेका छन्। “संविधान नै हाम्रो साझा प्रतिज्ञा हो। त्यसैले कुनै पनि निकास संविधानभन्दा बाहिर हुन सक्दैन,” अपिलमा भनिएको छ।