काठमाडौं । ३१ औ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ संघीय कार्यालयले काठमाडौंमा आयोजना गरेकोे विशेष समारोह मार्फत कार्यक्रमका प्रमुख अतिथि सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ र वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री कृष्ण कुमार तामाङले अवार्ड र पुरस्कार प्रदान गर्नुभएको थियो ।
‘तामाङ मिडिया अवार्ड २०८२’ पत्रकारद्धय टीकाराम तितुङ तामाङ र मालती मोक्तान मानवीलाई प्रदान गरिएको छ ।
पुरस्कार राशि १० हजार १ सय रुपैयाँ र सम्मानपत्र रहेको छ । नुवाकोटका टीकाराम कान्तिपुर मिडिया गूपरुपको ईकान्तिपुर डटकममा उपसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ भने धनकुटाकी मालती सामुदायिक रेडियो लालीगुराँसमा आबद्ध हुनुहुन्छ ।
तामाङ मिडिया अवार्डका लागि संघ, प्रदेश र जिल्ला समितिबाट प्राप्त सिफारिस अनुसार दुई जनालाई छनोट गरिएको छनोट समितिका संयोजक प्रतीक ङेसुरले जानकारी दिनुभयो ।
संघका अध्यक्ष नेत्र तामाङको अध्यक्षतामा भएको अवार्ड वितरण समारोहमा सम्मान पछि आफ्नो भनाई राख्नुहुँदै टिकाराम तामाङले समुदायको तर्फबाट पहिलो अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
सञ्चार क्षेत्रमा लागेको २१ वर्षको अनुभव सुनाउँदै तामाङले अवार्ड प्राप्त पछि अझै निरन्तर यही क्षेत्रमा लागी राख्न प्रोत्साहन मिलेको बताउँदै आफू सञ्चारमाध्यम मार्फत तामाङ समुदायको आवाजलाई बुलन्द गरिराख्ने बताउनुभयो । साथै उहाँले संचार क्षेत्रमा तामाङ समुदायको लगानी आवश्यक भएको बताउनुभयो ।
प्रसारण दिवसको अवसरमा हरेक वर्ष दुई जना पत्रकार ( महिला र पुरुष) लाई नगदसहित मिडिया अवार्ड दिँदै आएको छ ।
विद्युतीय सञ्चार माध्यमबाट पहिलो पटक २०५१ भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस मनाइन्छ ।