कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार हिजो धारणा राख्न बाँकी सदस्यहरूले आज बोल्नेछन्। बैठकमा पार्टीको आन्तरिक विषय, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल भइरहेको छ।

हिजोको बैठक पार्टी सभापति गगनकुमार थापाको मन्तव्यसँगै सुरु भएको थियो। त्यसपछि महामन्त्री प्रदीप पौडेलले ११ बुँदे एजेण्डा प्रस्तुत गरेका थिए। ती एजेण्डामाथि २८ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए।

हिजो धारणा राख्नेहरूमा डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ र रमेश धमला रहेका थिए।

यसैगरी दिपनकुमार श्रेष्ठ, बसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई र शिवबहादुर सुनारले पनि आफ्नो धारणा राखेका थिए।

त्यस्तै सूर्यबहादुर विक, दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह तथा प्रदेश सभापतिहरू— कृष्णप्रसाद यादव (मधेश) र ईन्द्रबहादुर बानियाँ (बागमती) ले पनि हिजो नै आफ्ना विचार राखिसकेका छन्।

आजको बैठकमा बाँकी सदस्यहरूको धारणा संकलनपछि एजेण्डामाथिको थप छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।