एघारौं फाइनल खेल्न लागेको नेपाललाई पहिलो उपाधि जित्ने अवसर

नेपाली महिला राष्ट्रिय फुटबल टिमले बिहीबार राति वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।

साउदी अरेबियाको जेद्दामा नेपाली समयअनुसार राति ९:४५ बजे हुने प्रतियोगिताको फाइनलमा जित हात पारे नेपालले एघारौं फाइनल खेल्दा पहिलो उपाधि जित्नेछ। नेपालले सेमिफाइनलमा लेवनानलाई २-१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। आत्मघाती गोलले पछि परेको नेपालका लागि सावित्रा भण्डारी साम्बाले बराबरी गोल गर्दा प्रिति राईले इन्जुरी समयमा उत्कृष्ट गोल गरेकी थिइन्।

जोर्डनले भने प्यालेस्टाइनललाई ५-० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। पाँच पटकको च्याम्पियन जोर्डन फिफा महिला वरीयतामा ७४औं स्थानमा छ। नेपाल भने १०५औं स्थानमा छ। प्रतियोगिताको बलियो मानिएको जोर्डनविरुद्ध नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा भने खेल्नेछैनन्। उनी फ्रेञ्च क्लबमा अनुबन्धन भएका कारण फाइनल नखेली फ्रान्सतर्फ गएकी छिन्।

फाइनल खेल फिफा विन्डोको नभएका कारण साम्बाले क्लबसँग सम्झौताका कारण फाइनल गुमाएकी हुन्। उनले प्रतियोगितामा ९ गोल गरेकी थिइन्। लेवनानविरुद्ध सेमिफाइननलमा एक गोल गरेकी साम्बाले समूह चरणमा प्यालेस्टाइनविरुद्ध दुई गोल, इराकविरूद्ध पाँच गोल र सिरियाविरुद्ध एक गोल गरेकी थिइन्।

नेपाली टिमले साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा स्थान बनाए पनि उपाधि जित्न भनेको सकेको छैन। सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफको फाइनलमा नेपालले भारतसँग हार बेहोरेको थियो। दुई वर्षअघि सन् २०२२ मा घरेलु मैदानमा भएको साफको फाइनलमा पनि नेपालले बंगालदेशसँग पराजय भोगेको थियो।

 

यस्तै नेपालले तीन पटकको दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्थानमै चित्त बुझाएको छ। सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण भिडन्तमा नेपाल भारतसँग नै पराजित भएको थियो।

SHARE