काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेर उनी शारीरिक तथा मानसिक रूपमा निकै कष्टकर अवस्थामा रहेको बताएका छन्।
बुधबार साँझ लामिछानेलाई भेटेर बाहिरिँदै दाहालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछाने भैरहवाको हिरासत बसाइका कारण निकै पीडामा परेको जानकारी दिए।
“भैरहवामा बस्दाको स्थिति अलि धेरै नै जटिल रहेछ। उहाँ दुब्लाउनुभएको छ, अनुहारमा पनि थकान र पीडाको छाप देखिन्छ,” दाहालले भने, “उहाँकै भाषामा भन्नुपर्दा भैरहवामा झन्डै–झन्डै गोलघरको जस्तो अवस्था भोग्नुपर्यो, धेरै ठूलो पीडामा रहेँ भन्नुहुन्थ्यो।”
नख्खुमा भने सन्तोष
भैरहवाको कठिन बसाइको तुलनामा काठमाडौंको नख्खु कारागारमा ल्याएपछि लामिछाने केही सहज देखिएको दाहालको भनाइ थियो।
“यहाँ आएपछिको स्थिति, खानपिन र अन्य व्यवस्थापन भैरहवाको भन्दा निकै राम्रो छ भनेर उहाँले प्रशंसा गर्नुभयो,” दाहालले भने।
भेटमा खासै राजनीति नभएको दाहालको दाबी
दाहालले आफू दुई पटकको मन्त्रिपरिषद्मा गृहमन्त्री भइसकेको कारण ‘अभिभावक’ को हैसियतले मात्र भेट्न गएको बताए। भेटमा गम्भीर राजनीतिक एजेन्डा उठाइएन भन्ने उनको भनाइ थियो।
तर, भेटमा लामिछानेले सत्ता गठबन्धनबाट आफूलाई लक्षित गरेर प्रतिशोधपूर्ण व्यवहार गरिएको गुनासो भने दोहोर्याएको दाहालले बताए।
“अरूको उस्तै केसमा उन्मुक्ति हुन्छ, मलाई मात्र लखेटियो भन्ने उहाँको पुरानै धारणा अहिले पनि राख्नुभयो,” उनले भने।
‘सत्ता गठबन्धनकै गतिविधिले फाइदा’
दाहालका अनुसार लामिछानेले सत्ता गठबन्धनका कदमले उल्टै आफ्नो पार्टीलाई बलियो बनाएको विश्लेषण समेत गरेका छन्।
“कांग्रेस–एमालेले उहाँलाई जसरी व्यवहार गर्यो, त्यसले उहाँ र उहाँको पार्टीलाई देशभर फाइदा पुगेको छ भन्ने उहाँले प्रष्ट भन्नुभयो,” दाहालले भने, “कांग्रेस–एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम किन गरे भन्ने उहाँलाई आश्चर्य लागेको रहेछ।”