गोरखापत्र संस्थानसँग प्रेस सेन्टर नेपालको संस्थागत भेट, न्यूजरुम र व्यवस्थापन सुधारका सुझाव

काठमाडौं – प्रेस सेन्टर नेपाल र गोरखापत्र संस्थानबीच २०८२ भदौ ३ गते संस्थागत भेट तथा औपचारिक छलफल सम्पन्न भएको छ।

प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीको नेतृत्वमा गएको टोलीले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर एरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, गोरखापत्र अनलाइनका डिजिटल प्रमुख नारद गौतमसँग भेटेर संस्थागत विषयमा छलफल गरेको हो।

भेटका क्रममा प्रेस सेन्टर नेपालले गोरखापत्र संस्थानलाई दुई पक्ष—न्यूजरुम सुधार र व्यवस्थापन सुधार—मा ध्यान दिनुपर्ने सुझाव प्रस्तुत गर्‍यो।

न्यूजरुमलाई सुझावहरू

गोरखापत्र र यसका प्रकाशन सरकारसेवक होइन, राष्ट्रसेवक बन्नुपर्छ।

सत्तापक्ष मात्र होइन, प्रतिपक्षका आवाज र विचारलाई पनि समान प्राथमिकता दिनुपर्छ।

आवाजविहीन समुदायको वास्तविक आवाज बन्नुपर्छ।

जाति, जनजाति, क्षेत्र र वर्गका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ।

प्रेस स्वतन्त्रताविरुद्ध हुने जुनसुकै कदमविरुद्ध सशक्त रूपमा उभिनुपर्छ।

व्यवस्थापनलाई सुझावहरू

कर्मचारीको व्यावसायिक विकासमा जोड दिनुपर्छ।

दशकौँदेखि स्ट्रिन्जर, करार र ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरूको हकहितमा ध्यान दिनुपर्छ।

सत्ता परिवर्तनसँगै न्यूजरुमका कर्मचारी हटाउने संस्कार अन्त्य गर्नुपर्छ।

काम गर्ने कर्मचारीलाई पुरस्कार र नगर्ने लाई दण्ड दिने व्यवस्था कायम गर्नुपर्छ।

सामाजिक सुरक्षा कोषमा कर्मचारीलाई समावेश गर्ने प्रक्रिया तत्काल अगाडि बढाउनुपर्छ।

कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक एरीले प्रेस सेन्टर नेपालले उठाएका विषयलाई संस्थानले सकारात्मक रूपमा लिएको प्रतिक्रिया जनाए।

उनिहरूले गोरखापत्रलाई सरकारको मात्र नभई सिंगो राज्यको आवाज बनाउन लागिपरेको र ‘स्मार्ट गोरखापत्र’ अभियान सुरु गरिसकेको जानकारी दिए। साथै, प्रकाशनलाई डिजिटलाइज गर्ने काम सुरु भएको र कर्मचारी व्यवस्थापनबारे आवश्यक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाए।

गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम र गोरखापत्र अनलाइनका डिजिटल प्रमुख नारद गौतमले न्यूजरुममा विचार वा सत्ता परिवर्तनका आधारमा कर्मचारीलाई हटाइने छैन भन्ने स्पष्ट पारे।

उनिहरूले गोरखापत्रलगायत अन्य प्रकाशनलाई “भुइँमान्छेको आवाज” बनाउन निरन्तरता दिइरहेको र कमजोरी देखिए सुधार गर्न तत्पर रहेको प्रतिबद्धता जनाए।

भेटमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्का, महासचिव मनोज घर्तीमगर, उपमहासचिव बुद्ध लोप्चन, सचिवहरू नवराज दिपिन राई, नन्दलाल तिवारी र केशव भुलको समेत उपस्थिति थियो।

SHARE