नेपाल तामाङ कलाकार संघको १८ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशन तयारी

काठमाडौं । “सम्पूर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला, संस्कृतिको संरक्षण, विकास तथा प्रवर्द्धन हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित नेपाल तामाङ कलाकार संघले आफ्नो १८ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशन–२०८२ आयोजना गर्ने भएको छ।

वार्षिक साधारणसभा तथा अधिवेशन आगामी २०८२ भाद्र २१ गते, शनिबार बिहान ११ बजे राजधानीको बौद्धस्थित रोयल तीनचुली ब्याङ्केट, तीनचुली चोक बौद्धमा हुनेछ।

संघका अनुसार अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संघको भावी योजना, नीतिगत दस्तावेज र कलाकारहरूको हितका एजेन्डामा गहन छलफल हुनेछ। यस अधिवेशनले विशेषगरी तामाङ कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिने तयारी गरेको संघका अध्यक्ष विशाल काल्तानले जनाएको छ।

साधारणसभापछि विशेष सांस्कृतिक कार्यक्रम पनि हुने छ, जसमा तामाङ समुदायका चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्। यसलाई तामाङ कलाकारहरूको एकता, कला–संस्कृतिको पहिचान र सामाजिक एकतामा टेवा पुगोस् भन्ने उद्देश्यसहित आयोजना गर्न लागिएको हो।

नेपाल तामाङ कलाकार संघले विगत १८ वर्षदेखि कलाकारहरूको हकहित, कला–संस्कृतिको प्रवर्द्धन र मौलिक पहिचानलाई जोगाउने अभियान चलाउँदै आएको छ।

 

SHARE