३३ बुँदे प्रतिबद्धतासहित हर्क साम्पाङको प्रस्ताव : असंलग्न परराष्ट्रदेखि ‘तीन दिन पढाइ, चार दिन श्रम’

काठमाडौं ।श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले देशको समग्र विकास, सुशासन र स्वाधीनताका लागि ३३ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, शिक्षा, श्रम र आर्थिक विकासका क्षेत्रमा आमूल परिवर्तनको खाका प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

साम्पाङले असंलग्न परराष्ट्र नीति र राष्ट्रिय सार्वभौमिकतालाई प्राथमिकतामा राख्दै एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिसँग जोडिन सक्ने सम्झौता खारेज गर्नुपर्ने बताएका छन्। उनले विदेशी हस्तक्षेपबाट मुक्त रहँदै सीमा सुरक्षाका लागि सेना परिचालन गर्नुपर्ने र सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए।

शिक्षा क्षेत्रमा उनले ‘किताबी ज्ञान मात्र शिक्षा होइन’ भन्ने अवधारणा अघि सार्दै हप्तामा तीन दिन मात्र औपचारिक पढाइ र बाँकी चार दिन श्रम, सीप, सिर्जना र आविष्कारमा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन्। साथै, ‘एक पालिका एक उद्योग, एक परिवार एक रोजगार’ नीति कार्यान्वयन गरी कृषि र उत्पादनलाई प्रत्यक्ष रूपमा किसानसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे।

विकास मोडेलबारे टिप्पणी गर्दै उनले काठमाडौं केन्द्रित प्रणाली अन्त्य गरी संघीयताको प्रभावकारी कार्यान्वयनमार्फत सीमावर्ती र ग्रामीण क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने बताए।

वैदेशिक ऋण र अनुदानमा निर्भरता घटाउँदै आफ्नै स्रोत र जनशक्ति परिचालनमार्फत स्वाधीन अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा साम्पाङले कडा कानुनी व्यवस्था आवश्यक रहेको औंल्याउँदै कामचोर र भ्रष्ट कर्मचारीलाई सरुवा मात्र नभई सिधै बर्खास्त गर्नुपर्ने प्रस्ताव गरेका छन्।

त्यस्तै, सहकारी ठगी प्रकरणमा संलग्न आरोपित जीबी राई लगायतलाई तत्काल पक्राउ गरी कारबाही गर्न र पीडितको रकम ठगहरूको सम्पत्ति लिलाम गरेर फिर्ता गराउन उनले सरकारसँग माग गरेका छन्।

साम्पाङले प्रस्तुत गरेको प्रतिबद्धता पत्रमार्फत नीतिगत सुधार र कार्यान्वयनमा दृढता देखाउन सरकारलाई आग्रह गरेका छन्।

1 (2)2 (2)34