काठमाडौं । बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र भइरहेको भन्दै त्यसलाई कुनै हालतमा स्वीकार गर्न नसकिने प्रष्ट पारेको छ।
बिहीबार जारी विज्ञप्तिमा आन्दोलनले भनिएको छ, “जेन–जी आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ । यो हामीलाई पटक्कै स्वीकार्य छैन।”
आन्दोलनले जेन–जी पुस्ताको बलिदान र आन्दोलनको म्यान्डेट गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउनेतर्फ कहिल्यै नभएको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “जेन–जीले सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने चाहनाले आन्दोलन गरेको होइन।”
नागरिक आन्दोलनले जेन–जी आन्दोलनको दोस्रो दिनदेखि देखिएको तोडफोड, आगजनी र दहन कार्यहरूलाई नियोजित घुसपैठको परिणाम बताएको छ।
त्यसक्रममा उनीहरूले आरोप लगाएका छन् : “नागरिकप्रति उत्तरदायी राज्यका सबै निकाय र निजी क्षेत्रलाई आक्रमण गर्ने ती तत्व अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेका छन्, जुन असाध्यै डरलाग्दो र अस्वीकार्य छ।”
नागरिक आन्दोलनले संविधानले दिएको जिम्मेवारी र जेन–जी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन् गर्न सैनिक नेतृत्वलाई आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ :सेनाले तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको अन्तरक्रिया बन्द गर्नुपर्छ। आगामी छलफल र कार्यक्रमहरू राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र हुनु पर्छ।











