बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन्।मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर बाँस्कोटाले जानकारी दिए।

केन्द्रमा समीकरण फेरबदल भएपछि फागुन २३ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको थियो।सरकारमा भएको दलले समर्थन फिर्ता लिँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन्।

बागमती प्रदेश सभामा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले मुख्यमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन कम्तिमा ५६ सांसदको समर्थन आवश्यक रहन्छ।

यहाँ एमालेका २७, माओवादीका २१ र एकीकृत समाजवादीका ७ सांसद छन्। बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टी ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।  हाम्रो नेपाल पार्टीबाट शैलेन्द्रमान बज्राचार्य सरकारमा गएका छन्। सत्ता गठबन्धनमा रहेका दलहरू एमाले, माओवादी र एकीकृत समाजवादीका ५५ सांसद छन्। हाम्रो नेपाल पार्टीका २ जोडिँदा ५७ पुग्ने हुँदा विश्वासको मत पाउनेमा मुख्यमन्त्री विश्वस्त थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्तिमा एउटा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेर त्यसो हुन नसके बागमतीमा माओवादी नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका थिए।

‘अहिलेसम्म केही परिवर्तन भएको छैन। यथास्थितिमा हामी विश्वासको नदिने भन्ने नै छ,’ एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दल नेता कृष्ण खनालले भने।

SHARE