जेन्–जी आन्दोलन : नयाँ पुस्ताको स्वर

हिरोज लोप्चन

नेपालको इतिहासमा सबै उमेरहद पुस्ताले आफ्नो असन्तुष्टि सडकबाटै व्यक्त गर्दै आएका छन्। २०४६ को जनआन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापित गर्‍यो। २०५२ देखि २०६३ सम्मा जनायुद्धको जगमा बनेको २०६२/६३ को जन आन्दोलनले राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्यायो। २०७२ को संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्‍यो। तर, यी सबै उपलब्धिलाई जनताले भोगेको भ्रष्टाचार, असमानता र दलहरूको स्वार्थी खेलले धमिल्याउँदै ल्यायो। यही असन्तोषको विस्फोट हो—जेन्–जी आन्दोलन।

 नयाँ पुस्ताको स्वर

जेन्–जी आन्दोलनले सबै युवालाई एकमत गरायो, लामो समयदेखि ढाकछोपमा राखिएका भ्रष्टाचारका फाइल सार्वजनिक गर्ने मागलाई राष्ट्रिय बहसमा ल्याइयो। पुरानो पुस्ताप्रति असन्तुष्टि झल्किँदै नयाँ पुस्ताले पहिलोपटक संगठित विद्रोह गर्‍यो।प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, उमेर सीमा, सांसद मन्त्री नबन्ने व्यवस्थाजस्ता विषय संविधान संशोधनको बहससम्म पुगे।

क्याम्पसदेखि गाउँको टोलसम्म युवाहरू सडकमा उत्रिँदा नेपाली राजनीतिमा पुनःजागृत गरायो। र, “दल बाहिरको विकल्प” को सम्भावना गहिरो गरी जेन्–जी आन्दोलनले जन्मायो ।

 पीडादायी घाउ

उपलब्धि मात्र होइन, यस आन्दोलनले गहिरा घाउ पनि छाडेको छ। दमन र हिंसामा दर्जनौँले ज्यान गुमाए, सयौँ घाइते भए। सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म, निजी घरदेखि बैंकसम्म तोड़फोड़ र आगजनी भयो। दोस्रो दिनदेखि आन्दोलनमा घुसपैठ, लुटपाट र योजनाबद्ध हिंसा प्रवेश गर्‍यो। कतिपय अवसरवादी शक्तिले यस आन्दोलनलाई राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता मेटाउने माध्यम बनाउन खोजे। विदेशी मिडियाको प्रचार र आन्तरिक विभाजनले आन्दोलनको शुद्धतालाई प्रश्नचिन्ह बनायो।

अबको कार्यदिशा : सम्भावना र चुनौती

युवाको यो विद्रोहलाई केवल “भावनात्मक विस्फोट”मा सीमित गर्नु अन्याय हुनेछ। अब यो आन्दोलनलाई संविधानसम्मत र संस्थागत रूपान्तरणतर्फ लैजानु जरुरी छ।

१. संविधानसम्मत समाधान – माग र असन्तुष्टिलाई संवैधानिक प्रक्रियामार्फत सम्बोधन गर्नु आवश्यक छ।
२. छानबिन र न्याय – दमन, हत्या र लुटपाटमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुनेछ।
३. नयाँ नेतृत्वको बाटो – कुलमान घिसिङ, बालेन शाह, हर्क साम्पाङजस्ता गैर–पारम्परिक नेतृत्वलाई व्यवस्थित मार्ग दिनुपर्छ।
४. राजनीतिक शिक्षण – युवाहरूलाई भावनात्मक विद्रोहभन्दा अगाडि नीतिगत अध्ययन र नेतृत्व विकासमा उन्मुख गरिनुपर्छ।
५. समाज रुपान्तरण – भ्रष्टाचारविरुद्धको लडाइँलाई सामाजिक न्याय, सुशासन र समान अवसर सुनिश्चित गर्ने अभियानमा रूपान्तरण गर्नुपर्छ।
६. प्रतिगमनविरुद्ध सजगता – गणतन्त्र र धर्मनिरपेक्षतालाई उल्ट्याउने खेल अस्वीकार गर्नैपर्छ।

जेन्–जी आन्दोलनले नेपालको राजनीतिक इतिहासमा नयाँ पुस्ताको पहिलो ठूलो राजनीतिक बिस्फोटको दर्जा पाएको छ। उपलब्धि र विनाश दुबै साथसाथै छन्। तर भविष्यमा यो आन्दोलनलाई कसरी सम्झिने भन्ने कुरा अबको कार्यदिशाले निर्धारण गर्नेछ।

यदि यसलाई संविधानसम्मत सुधार, शान्तिपूर्ण प्रतिवाद र नीतिगत रुपान्तरणतर्फ लैजान सकियो भने, जेन्–जी आन्दोलन “नयाँ लोकतान्त्रिक पुनर्जागरण” को नामले इतिहासमा अंकित हुनेछ।

SHARE