एनपीएलको खेल तालिका सार्वजनिक, कुन टोलीको खेल कहिले ?

पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आज खेल तालिका सार्वजनिक गरेको हो।

मंसिर १५ गते अर्थात् नोभेम्बर ३० मा त्रिवि क्रिकेट मैदानमा पहिलो खेल हुनेछ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दैछन् । २ डिसेम्बरदेखि हरेक दिन २ खेल हुनेछन् । जसमा पहिलो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे हुनेछ ।

प्रतियोगितामा ८ फ्रेन्चाइज टिमले भाग लिँदैछन् ।

सबैले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणमा २८ खेल हुनेछ । प्रत्येक टोलीले ७–७ खेल खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टोलीहरु प्लेअफमा पुग्नेछन् ।

शीर्ष ४ मध्ये तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच इलिमिनेटर खेल हुनेछ । उक्त खेल १८ डिसेम्बरको बिहान हुनेछ । इलिमिनेटरको विजयी हुने टोली क्यालिफायरका लागि छनोट हुनेछ । हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्यालिफायर खेल पनि १८ डिसेम्बरमै दिउँसो हुनेछ । विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि इलिमिनेटरको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । क्वालिफियर २ को खेल १९ डिसेम्बरमा हुनेछ । यी दुईबीचको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ ।

फाइनल खेल २१ डिसेम्बर अर्थात् पुस ६ गते हुनेछ ।

प्रत्यक्ष प्रशारण केमा हुन्छ ?
खेलको प्रत्यक्ष प्रशारण चर्चित खेलकुद च्यानल स्टार स्पोर्ट्स्बाट हुनेछ । क्यानका सचिव पारस खड्काले स्टार स्पोर्ट्स्बाट प्रशारण हुँदा नेपाली क्रिकेटको चर्चा विश्वभर हुने र त्यसले नेपाली क्रिकेटलाई धेरै फाइदा पुग्ने बताएका छन् । त्यस्तै स्टार स्पोर्ट्स्का अलावा राष्ट्रिय प्रशारण च्यानलबाट पनि प्रत्यक्ष प्रशारणका लागि कुराकानी भइरहेको सचिव खड्काको भनाइ छ ।

 

 

SHARE