काठमाडौँ । भदौ २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा मंगलबार सार्वजनिक भएका छन्। उनी आज दिउँसो पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा सहभागी हुन पुगेका हुन्।
देउवासँगै उनकी पत्नी तथा सांसद डॉ. आरजु राणा देउवा पनि सानेपा पुगेकी थिइन्। देउवा दम्पतीको उपस्थितिसँगै सानेपा परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
गत भदौ २४ गते, जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले देउवाको बूढानीलकण्ठस्थित निवासमा आगजनी गरेका थिए। त्यस क्रममा देउवा दम्पतीमाथि कुटपिट समेत भएको थियो। आक्रमणमा घाइते भएका सभापति देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो।
आजको बैठकमा देउवाले आफ्नो स्वास्थ्य अवस्था, हालको राजनीतिक परिस्थिति, र जेनजी आन्दोलनपछि पार्टीको रणनीतिबारे मन्तव्य दिएका छन्। उनका सम्बोधनलगत्तै बैठक स्थगित गरिने तयारी भएको छ।
पार्टीको भ्रातृ संगठन तरूण दलका कार्यकर्ताहरू पनि ठूलो संख्यामा सानेपा पुगेका छन्। उनीहरूले सभापतिलाई स्वागत गर्दै “कांग्रेस एकता अमर रहोस्” जस्ता नाराबाजी समेत गरेका थिए।
बैठकमा कार्यसूचीमा मतभेद भएको बताइएको छ। विशेषगरी, जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिप्रति कांग्रेसको आधिकारिक धारणा तय गर्ने विषयमा नेताहरूबीच मतैक्य नहुँदा बैठक स्थगित गर्न लागिएको स्रोतले जनाएको छ।
सानेपामा अहिले सुरक्षा निकायको उच्च सतर्कता रहेको छ। पार्टी नेताहरूले भने सभापति देउवाको स्वास्थ्य सुधार र उनी फेरि सक्रिय राजनीतिमा फर्किएको देखिँदा पार्टीभित्र उत्साहको वातावरण सिर्जना भएको बताएका छन्।











