तिहारमा उज्यालोको चमक: यस वर्ष लक्ष्मीपूजामा विद्युत् माग ४८ मेगावाटले बढ्यो

काठमाडौँ । बत्ती, उज्यालो र फूलको पर्व तिहार देशभर उत्साहपूर्वक मनाइँदैछ। दिपावलीका अवसरमा घरघरमा बत्ती बाल्ने, फूलमालाले सजाउने र घर उज्यालो बनाउने परम्परा नेपाली समाजको मौलिक विशेषता हो। यो पर्वले उज्यालो, समृद्धि र सकारात्मक ऊर्जाको प्रतीकका रूपमा चिनिन्छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजाको साँझ देशभर कूल विद्युत् माग १,६५० मेगावाट पुगेको छ। यो गत वर्षको तुलनामा ४८ मेगावाटले बढी हो। गत वर्ष सोही दिन देशभर विद्युत् माग १,६०२ मेगावाट मात्र थियो।

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन १,०१५ मेगावाट बिजुली निर्यात गरिएको छ। हाल नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्दै आएको छ। दिपावलीका बेला देशभित्र माग बढे पनि आन्तरिक आपूर्तिमा कुनै समस्या नभएको प्राधिकरणले जनाएको छ।

विद्युत् उत्पादनमा आत्मनिर्भर हुँदै गएको नेपालका लागि यो वर्षको तिहार ऊर्जा व्यवस्थापनको दृष्टिले पनि विशेष रह्यो। उज्यालो, बत्ती र समृद्धिको प्रतीक दिपावलीले यस वर्ष नेपाललाई अझ प्रकाशमय र ऊर्जा सम्पन्न बनाएको छ।

SHARE