नेपाल तामाङ कलाकार संघको अध्यक्षमा पुन: विशाल काल्तन निर्वाचित

काठमाडौं। नेपाल तामाङ कलाकार संघको १८औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन शनिबार बौद्धस्थित दीपज्योती पार्टी प्यालेसमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्षमा विशाल काल्तनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

कार्यक्रममा संघका संस्थापक, वरिष्ठ कलाकार, सञ्चारकर्मी र तामाङ समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण र आगामी वर्षका नीति तथा कार्यक्रम पारित गरिएको थियो।

नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रोशन फ्युवा तामाङ, उपाध्यक्षमा सुबास मोक्तान, महासचिवमा खेम मोक्तान, सचिवमा योगेश लामा, र कोषाध्यक्षमा बैरागी मोक्तान चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा जीवन बम्जन, जितु लोप्चन, सुमिना लो, अस्मान लोप्चन, रेश्मा बम्जन, मिलन थिङ, मिन योन्जन, बसन्ती लामा, लक्ष्मी स्याङ्तान, शुभ तामाङ, प्रतिक मोक्तान, मदन ग्लान, अभि लामा, प्रकाश वाईबा र त्रिलोक लामा रहेका छन्।

अधिवेशनको उद्घाटन सत्रमा तामाङ परम्परागत डम्फु र नृत्यका साथ सांस्कृतिक प्रस्तुति गरिएको थियो। कार्यक्रममा बोल्दै नव–निर्वाचित अध्यक्ष विशाल काल्तनले तामाङ कलाकारको सिर्जनशीलता, पहिचान र अधिकारको संरक्षणका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले भने, “तामाङ कलालाई राष्ट्रिय स्तरमा पुर्‍याउने र नयाँ पुस्तालाई अवसर दिने हाम्रो साझा उद्देश्य हो।”

कार्यक्रममा संघका पूर्वअध्यक्षहरू, घेदुङका प्रतिनिधि, वरिष्ठ कलाकार तथा विभिन्न सांस्कृतिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

SHARE