दल नेता चयनका लागि रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार अपराह्न ४ बजे बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने तय गरिएको छ।

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार बैठकमा संघीय संसदको संसदीय दल नेता चयन गर्ने विषय मुख्य एजेन्डा रहनेछ। यसअघि संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजेका लागि तय गरेको छ। सोही प्रक्रियापछि रास्वपाले तत्काल केन्द्रीय समिति बैठक बोलाएको हो।

रास्वपाको मौजुदा विधानको धारा ६६ (८) को क र ख मा संघीय संसदमा दल नेता चयनसम्बन्धी व्यवस्था उल्लेख छ। विधानअनुसार संघीय निर्वाचनअघि प्रत्यक्ष र समानुपातिकतर्फ चयन भएका उम्मेदवारहरूमध्ये इच्छुकबीच निर्वाचनमार्फत दल नेता चयन गरिने तथा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने व्यवस्था छ।

तर, पार्टी नेतृत्वले उक्त व्यवस्था परिमार्जन गर्दै वरिष्ठ नेतालाई दल नेता प्रस्ताव गर्ने तयारी गरेको स्रोतहरूले बताएका छन्। यसबारे बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।

रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले दुई तिहाइ नजिक मत प्राप्त गरेपछि दल नेता चयनप्रति चासो बढेको छ।

बैठकले विधान संशोधनको सम्भावना, दल नेता चयनको प्रक्रिया र भावी संसदीय रणनीतिबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।