झापा-५ बाट बालेन शाहको ऐतिहासिक जित, सर्वाधिक मतसहित सांसद निर्वाचित

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको इतिहासमै सर्वाधिक मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सांसद निर्वाचित भएका छन्।

प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका शाहले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। शाहले ६८ हजार ३४८ मत प्राप्त गरे भने ओलीले १८ हजार ७३४ मत ल्याए। शाहले प्राप्त गरेको मत संसदीय निर्वाचन इतिहासकै सर्वाधिक मानिएको छ।

यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याएर जित हासिल गरेका थिए। त्यही निर्वाचनमा दोलखाबाट एमालेका पार्वत गुरुङले ५५ हजार ३६१ मत ल्याएर निर्वाचित भएका थिए। २०८० को उपनिर्वाचनमा चितवन–२ बाट रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका थिए। यसपटक भने लामिछानेले ५४ हजार ४०२ मत ल्याएका छन्।

यस निर्वाचनमा रास्वपाका अन्य उम्मेदवारले पनि उल्लेख्य मतसहित जित हासिल गरेका छन्। मोरङ–६ बाट रूविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भएकी छन् भने काभ्रे–२ बाट बदनकुमार भण्डारी ५३ हजार ३४४ मत ल्याएर विजयी भएका छन्। त्यस्तै, रूपन्देही–२ बाट सुलभ खरेल ५६ हजार ५५० मत प्राप्त गर्दै निर्वाचित भएका छन्।